गुल्मीमा माओवादीले नेतृत्व गरेका पालिका अब्बल :सबै भन्दा कम बेरुजु धुर्कोट,मालिका र रुरुक्षेत्रमा !



डिबी खड्का -जेठ १४ गुल्मी ।
महालेखा परिक्षकको कार्यालले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाइ बुझाएको आर्थिक वर्ष २०७९/८० को ६१ औं  प्रगति विवरणमा गुल्मीका चार स्थानीय तहको बेरुजु शुन्य प्रतिशतमा देखिएको छ ।
चार पालिका मध्य तीन पालिकामा माओवादीको नेतृत्व रहेको छ । भने एक स्थानीय तहमा नेपाली काङ्ग्रेसको नेतृत्व छ ।
सबै भन्दा कम बेरुजु जिल्लाको धुर्कोट गाउँपालिकामा देखिएको छ । १ अर्ब,३९ करोड ८२ लाख ९४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.६२ प्रतिशत अर्थात ८७ लाख २२ हजार रकम बेरुजु आएको छ । सबैको मेहनतले उत्कृष्ट नतिजा आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । धुर्कोटको नेतृत्व माओवादी केन्द्रका युवा नेता एवम् लुम्बिनी प्रदेश सचिवालय सदस्य भुपाल पोखरेलले गरेका छन् ।
त्यस्तै मालिका गाउँपालिका जिल्लामा दोस्रो कम बेरुजु आउने गाउँपालिका बनेको छ । एक अर्ब ३० करोड ३८ लाख ९१ हजार रुपैयाँको लेखा परिक्षण हुँदा ८८ लाख ८६ हजार रुपैयाँ बेरुजु महालेखाको प्रतिवेदनमा उल्लेख छ । जुन ०.६८ प्रतिशत हो ।
आर्थिक वर्ष २०७८/७९ मा यस गाउँपालिकाको बेरुजु ०.९१ प्रतिशत थियो । मालिका गाउँपालिका सबैको सहयोग साथले शुन्य बेरुजु उन्मुख गाउँपालिका तर्फ अघि बढेको आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले बताए । यहाँको नेतृत्व पनि माओवादीकै युवा नेता देवीराम अर्यालले गरेका छन ।
त्यस्तै माओवादीकै अर्का युवा एवम् शालीन नेता यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गाउँपालिकामा पनि ०.७१ प्रतिशत बेरुजु देखिएको छ । एक अर्ब,३९ करोड,५७ लाख रकम लेखा परिक्षण गर्दा ९९ लाख २६ हजार रकम बेरुजु आएको छ । जनप्रतिनिधिको   सहयोग र सबै कर्मचारीको कार्य कुशलताले कम बेरुजु आएको र आगामी दिनमा थप मेहनत गरेर काम गर्ने उर्जा मिलेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
जिल्लाको अर्को स्थानीय तह मदाने गाउँपालिका चौथो स्थानमा रहेको छ । एक अर्ब ३७ करोड ६२ लाख रुपैयाँ लेखा परिक्षण गर्दा एक करोड दुई लाख २१ हजार अर्थात ०.७४ प्रतिशत बेरुजु आएको छ । यहाँको नेतृत्व काङ्ग्रेसका पाका नेता महेन्द्र कुवरले गरेका छन ।
त्यस्तै जिल्लामा सबै भन्दा धेरै बेरुजु आउने स्थानीय तहमा  कालीगण्डकी गाउँपालिका बनेको छ । एक अर्ब,२६ करोड पाँच लाख ८२ हजार रुपैयाको लेखापरीक्षण हुँदा पाँच करोड ३० लाख ३२ हजार रुपैयाँ बेरुजु आएको छ जुन प्रतिशतमा ४.२१ हुन्छ ।
यस गाउँपालिकाको नेतृत्व काङ्ग्रेसका नेता वेद थापा मगरले गरिरहेका छन । थापाको यो दोस्रो कार्यकाल समेत हो ।
त्यस्तै इस्मा गाउँपालिकामा तीन करोड २० लाख १२ हजार,रेसुङ्गा नगरपालिकामा तीन करोड पाँच लाख ८० हजार ,मुसिकोट नगरपालिकामा तीन करोड ,४० लाख ३९ हजार,छत्रकोट गाउँपालिकामा एक करोड ५२ लाख २१ हजार,गुल्मी दरबार गाउँपालिकामा तीन करोड ३३ लाख ७५ हजार ,चन्द्रकोट गाउँपालिकामा तीन करोड ४९ लाख २९ हजार र सत्यवती गाउँपालिकामा २ करोड १४ लाख १७ हजार रकम महालेखा परिक्षकको कार्यालय बेरुजु देखाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता