किसान सम्मानित



गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका ले कृषकलाई कृषि तथा पशुपालन पेशामा टिकाइराख्न, उत्पादन वृद्धि गर्न र किसानको मनोबल उच्च बनाउन विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले दुग्ध व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याएका २० जना उत्कृष्ट किसान तथा दुग्धसँग सम्बन्धित संस्थाहरूलाई नगदसहित सम्मान गरेको हो।
सम्मानित हुनेहरूमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान, नमुना गोठ तथा भकारो व्यवस्थापन गर्ने किसान, धेरै पशुपालन गर्ने किसान, उत्कृष्ट दूध संकलन केन्द्र तथा दूध बजारीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहकारी संस्था रहेका छन्। गाउँपालिकाले किसानको मेहनत, लगनशीलता र उत्पादनमुखी कार्यको कदर गर्दै सम्मान गरेको जनाएको छ।
सम्मानित किसान राधिका गैरले गाउँपालिकाबाट प्राप्त सम्मानले थप उत्साह र आत्मविश्वास बढाएको बताउनुभयो। यस्तै वर्षौंदेखि पशुपालन व्यवसायमा सक्रिय पशुराम भण्डारीले किसानको श्रमको मूल्यांकन हुनु सुखद पक्ष भएको भन्दै यसले आगामी दिनमा अझ मेहनत गर्न प्रेरणा दिएको बताउनुभयो।
हाल सत्यवती गाउँपालिकामा २४२ जना किसान व्यावसायिक दुग्ध उत्पादनमा आबद्ध रहेका छन्। यहाँ वार्षिक करिब ५ लाख लिटर दूध उत्पादन तथा बजारीकरण हुँदै आएको छ। किसानहरूको अथक परिश्रमका कारण गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्न सफल भएको पशुपन्छी विकास शाखा प्रमुख नारायण खनालले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष टिकराम पाण्डेले किसानको सम्मान र प्रोत्साहनबिना कृषि क्षेत्रको विकास सम्भव नहुने बताउँदै स्थानीय सरकारको सफलता पनि किसानकै समृद्धिसँग जोडिएको धारणा व्यक्त गर्नुभयो। उहाँले कृषि र पशुपालनलाई गाउँपालिकाको आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सत्यवती गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न अनुदानमा गाई वितरण, आधुनिक कृषि उपकरण उपलब्ध गराउने, कृषि एम्बुलेन्स सञ्चालन, विभिन्न तालिम तथा अध्ययन अवलोकन भ्रमणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमको सकारात्मक प्रभावका कारण गाउँपालिका दूध, मासु र अण्डा उत्पादनमा मात्र आत्मनिर्भर नभई बाहिरी बजारमा समेत निर्यात गर्न सफल भएको छ।
गाउँपालिकाका अनुसार सत्यवतीमा वार्षिक ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका कृषि तथा पशुजन्य उपज उत्पादन हुने गरेको छ। कृषि र पशुपालनमार्फत गाउँको अर्थतन्त्र मजबुत बनाउँदै किसानको जीवनस्तर उकास्न सत्यवती गाउँपालिका जिल्लामै उदाहरणीय बन्दै गएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता