३ महिनासम्म पनि खुलेन सडक, सिङ्गो गाउँ नै डोकोमा बिरामी बोक्न बाध्य



असोज २८ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिकाले सडकको वैकल्पिक माध्यम दिन नसक्दा सिङ्गो गाउँ नै सडक सञ्जालबाट वञ्चित भएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकसम्म जोड्ने कुर मनकामना साझापुर मोटरबाटो सडक खण्ड अन्तर्गत असिनाथालमा पहिरोले सडक नै बगाएपछि त्यस वडाका १३० घरधुरी सडक सञ्जालबाट वञ्चित भएका हुन् ।

गत असार ६ गते पहिरोले सडक बगाए पनि अहिलेसम्म स्थानीय सरकारले त्यस क्षेत्रका जनतालाई कुनै विकल्प दिन सकेको छैन । गाउँ र सडकको सम्बन्ध विच्छेद भएसँगै साविकको ठुलोलुम्पेक गाविस वडा नम्बर पाँचका १३० घरधुरी दुई घन्टा लगाएर डोकोमा बिरामी बोक्न बाध्य भएका छन् ।

त्यति मात्रै होइन स्थानीय झलक बहादुर सिंजालीका एक मालवाहक र एक यात्रुवाहक गरि दुई वटा सवारी साधन विगत तीन महिनादेखि अलपत्र परेका छन् । ‘गाउँपालिकाले कुनै माध्यमबाट आफ्ना सवारी साधनको उद्धार गरे मैले कमसेकम किस्ता तिर्न त सक्थे !’ उनले भने ।

‘सडक खुलाउन तर्फ स्थानीय सरकारले कुनै पनि चासो दिएको छैन ।’ स्थानीय ओम श्रीसको गुनासो पनि उस्तै छ ।

यता वडा कार्यालयले भने गाउँपालिकामा पटक पटक कुरा उठाउँदा आफ्नो आवाजको सुनुवाई नभएको वडा अध्यक्ष रुक बहादुर रानाले आरोप लगाएका छन् । आँफुले बजेट छुट्ट्याउन र वैकल्पिक उपाय दिन गाउँपालिकालाई आग्रह गरेको उनको भनाइ छ ।

त्यस्तै गाउँपालिकाले भने त्यस ठाउँबाट सडक खुलाउन नसकिने भन्दै वैकल्पिक उपाए खोजिरहेको दाबी गरेको छ ।

झन्डै चार महिना पुग्न लागिसक्दा पनि स्थानीय सरकारले विकल्प दिन नसक्नु दु:खद विषय हो ।सिङ्गो गाउँको पीडाप्रति सत्यवती गाउँपालिकाले समयमै कदम चाल्न जरुरी देखिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता