सक्षम जनप्रतिनिधिको पर्खाइमा गुल्मीका नागरिक



हुमाकान्त पोखरेल
१४ वैशाख, गुल्मी । निर्वाचित अधिकाशं पालिकाका विजयी दलले आफ्नो घोषणापत्र फर्केर नहेर्दा कामले गति लिन सकेको छैन ।

‘निर्वाचनमा उम्मेदवार बन्दा मेयर सापले निशुल्क पानी खुवाउछु भन्नुभएको थियो,’ रेसुङ्गा नगरपालिकाको सुनुवाई कार्यक्रममा वडा नम्बर ६ का केशव मरासिनीले भने, ‘तर, मैले अहिले पनि पानीको बिल बुझाइरेको छु ।’ उनले दलहरुले निर्वाचनमा एउटा कुरा बोल्ने तर निर्वाचनपछि अर्कै व्यवहार गर्ने गरेकोले आफुहरु समस्यामा परेको बताए । रेसुङ्गा नगरपालिका–७ का टिकानिधी पन्थीले वडामा सडक बत्तिका सामग्री आएको धेरै महिना भएपनि उपयोग नभएको गुनासो गरे । ‘सरकारी सम्पत्तिको यसरी दुरुपयोग भइरहेको छ,’ उनले भने, ‘यसको अनुगमन तथा मुल्याकंन कतैबाट नहुनु दुःखद् कुरा हो ।’ उनले अब आउने जनप्रतिनिधिले सबैको भावना बुझेर काम गर्नुपर्ने बताए । वडामा जाँदा वा पालिकामा जाँदा कोही पनि जनप्रतिनिधिले राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने जनप्रतिनिधिहरु आफुले चाहेको उनले बताए । त्यसका साथै निष्पक्ष अनुगमन एवम् मुल्याकंन, सबै जनताको भावना बुझेर काम गर्न सक्ने प्रतिनिधि छनोट हुनुपर्ने उनले धारणा राखे ।
सडक चाहियो’
गत स्थानीय तहको निर्वाचनमा सबैजसो राजनीतिक दलहरुले भावनामा बगेरै घोषणापत्र तयार गरे । स्थानीय तहमा आउने स्रोत र साधनको आँकलन नगरीकनै बढी मत ल्याउने उदेश्यले निर्वाचनमा नागरिकलाई धेरै आश्वासन पनि देखाए । तर, निर्वाचनपछि ती आश्वासन पुरा गर्न नसक्दा नागरिक निराश भेटिन्छन् । ‘निर्वाचनका बेला बाटो ल्याइदिन्छौ भन्नुभएको थियो र भोट दिइयो,’ इस्मा गाउँपालिका –६ अम्मरपुर बुल्मका लिल बहादुर मुखियाले भने, ‘गाउँमा बाटो पुग्ने कुरा आकाशको फल्, आँखा तरि मर् जस्तै भयो ।’ पाँँच बर्षको अवधिमा बिजुली र पानी पुगेपनि बाटो नपुगेकोले असुविधा रहेको उनले बताए । अब आउने निर्वाचनमा आफ्नो गाउँमा सडक पु¥याइदिने दल र उम्मेदवारलाई भोट दिने उनले बताए । त्यसका साथै स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिनुपर्ने उनको बुझाई छ ।

टिन दिनेलाई भोट

स्थानीय तहको गठन भइसकेपछि पालिकाहरुले धमाधम खरका छाना विस्थापन गर्ने निर्णय गर्न थाले । चन्द्रकोट गाउँपालिकाले चार बर्षअघि खरका छाना विस्थापन गर्ने निर्णय ग¥यो । तर, गाउँपालिकाको वडा नम्बर १ दिब्रुङ्गका टेक बहादुर कामीले अहिलेसम्म पनि टिन पाएका छैनन् । ‘पहिले टिन दिने भनेर सबै कागजपत्र बुझायौँ, टिन दिने आश्वासन पनि दिए,’ कामीले भने, ‘तर, अहिले टिन छैन भनेर रित्तो हात फर्काए ।’ उनले बर्षायाममा घर चुहिएर समस्या हुने भएपनि जनप्रतिनिधिले आफुहरुको कुरा नसुनेको गुनासो गरे । उनीसँगै पाँच परिवारले टिन पाएका छैनन् । अब निर्वाचन आएकोले उनीहरुले टिन पाउने सम्भावना पनि छैन ।
दिबु्रङकै कृष्ण बहदुर कामीले पनि जसले टिन दिन्छ, उसैलाई भोट दिने बताए । ‘अब निष्पक्ष ढंगले काम गर्ने उम्मेदवारले जित्नुपर्छ,’ उनले भने, ‘सत्तामा पुग्नेले सबै नागरिकको समस्यालाई नजिकबाट आँकलन गर्नुपर्छ ।’ आफुहरुका गुनासो सुन्ने, पानी, बिजुली लगायतका बिषयमा सहजिकरण गर्ने व्यक्तिले निर्वाचनमा जित्नुपर्ने कामीको भनाई छ । ‘हिउँदमा आगलागीको डर छ, बर्षायाममा चुहिएर बस्नै हुँदैन,’ उनले भने, ‘अबको निर्वाचनमा टिन दिनेलाई भोट दिन्छौ ।’

कति कार्यन्वयन भए विगतका एजेन्डा ?
एमालेका विगत वाचा अधुरै ः नेकपा एमाले रेसुङ्गा नगरपालिकाले २०७४ को चुनावी घोषणा–पत्रमा पाँच बर्षमा तम्घासदेखि प्रत्येक वडाको केन्द्रसम्मको सडक कालोपत्रे गर्ने उल्लेख गरेको थियो । सबै वडालाई समेट्ने रेसुङ्गा चक्रपथको निर्माण गरी कालोपत्रे गर्ने उल्लेख गरेपनि अहिलेसम्म रेसुङ्गाका २ वटा वडा कार्यालयसम्म मात्रै पक्कि सडक पुगेको छ । बाँकी १२ वडा कार्यालयसम्म जोड्ने सडकमा कालोपत्रे भएको छैन ।
एमालेको घोषणा–पत्रमा नगर बस संचालन गर्ने उल्लेख भएपनि अहिलेसम्म नगरपालिकामा एउटा पनि नगरबस संचालन गरिएको छैन । वडाका सबै स्वास्थ्य चौकीमा चौविसै घण्टा बर्थिङ सेन्टर संचालन र सबै वडामा एम्बुलेन्स सेवा संचालन गरिने एमालेको घोषणापत्रमा उल्लेख थियो । हालसम्म एउटा वडामा मात्रै बर्थिङ सेन्टर संचालन भएको छ भने नगरपालिका मातहतमा एउटा पनि एम्बुलेन्स नभएको निवर्तमान स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
०७४ मा स्थानीय तहको निर्वाचन हुँदा एमाले इस्मा गाउँ कमिटीले मातहतमा रहने सरकारी कार्यालयहरुका भौतिक संरचना निर्माण गर्ने, महत्वपूर्ण सडकहरु पाँच बर्षभित्र कालोपत्रे गर्ने, सबै वडाहरुलाई जोड्न रिङरोड निर्माण गर्ने, न्यूनतम हजार जना अट्ने सुविधासम्पन्न हल निर्माण गर्ने, बस पार्ककको निर्माण गर्ने वाचा ग¥यो । यीनै आश्वासन पत्याएर नागरिकले एमालेको सरकार बनाइदिए । तर, घोषणापत्रमा उल्लेख भएका काम गाउँपालिकाले संस्थागत नगर्दा चुनावी वाचा भोट तान्ने माध्यम मात्रै बनेको छ ।
मुसिकोट नगरपालिकामा विजयी भएको नेकपा एमालेले छ ठाउँमा पक्की पुल र आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल राख्ने प्रतिवद्धता गरेको थियो । प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने र ग्वादीका चौरमा क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने प्रतिवद्धता जनाएर एमालेले युवाहरुका भोट तानेको थियो । सबै वडाहरुमा दुई÷दुईवटा बालउद्यान निर्माण गर्ने, आँपचौरदेखि वामीसम्म र दोभानदेखि राक्सेसम्म नमूना वस्तीहरुको विकास गर्ने, डम्पिङ साइट बनाउने, बृद्धाश्रम बनाउने, पालिकाभित्रै स्नातकोत्तरसम्मको पढाइको व्यवस्था गर्ने एमालेका घोषणापत्रको मुख्य प्रतिवद्धता हुन् ।
अहिलेसम्म एउटा मात्रै पक्की पुल सम्पन्न भएको छ भने बाँकी तीनओटा निर्माणाधिन छन् । झोलुङ्गे पुल तीनओटा निर्माण सम्पन्न भए । सबै वडामा खेलमैदान भएपनि व्यवस्थित नभएको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले स्वीकार गरे । नगरपालिकाले अहिलेसम्म एउटा पनि बालउद्यान बनाउन सकेको छैन । नमुना बस्ती, बृद्धाश्रम र डम्पिङ साइड एमाले मुसिकोटको लागि चुनाव जित्ने नारा मात्रै सावित भएको छ । अहिलेसम्म काम नहुनुले पनि यसलाई पुष्टि गर्छ ।
एमाले छत्रकोट गाउँपालिकाले १२ कक्षासम्मको पढाई निःशुल्क गर्ने, रोजगारमुलक शिक्षा प्रदान गर्ने, सबै वडामा बालविकास केन्द्रको स्थापना गर्ने, प्राविधिक विद्यालयको स्थापना गर्ने लगायतका आश्वासन देखाएर विद्यार्थी एवम् उनका अभिभावकको भोट लियो । सबै वडामा प्रसुती केन्द्रको स्थापना गर्ने, एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, छ÷छ महिनामा स्वास्थ्य परीक्षण गराउने, लक्षित वर्गलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने एमालेका चुनावी नारा हुन् ।
सबै सडक कालोपत्रे गर्ने, गाउँपालिकाभित्र सार्वजनिक यातायात संचालन, सबै ठाउँमा स्टिल पोल राख्ने, सुचना केन्द्रको स्थापना गर्ने पनि एमालेको चुनावी नारा हो । यिनै प्रतिवद्धताको आधारमा गाउँपालिकामा मधुकृष्ण पन्थको नेतृत्वमा रहेको समुह विजयी भयो । तर, अहिलेसम्म जनप्रतिनिधिले आफ्नो घोषणा–पत्र पनि हेरेका छैनन् । जसले गर्दा कामले गति लिन सकेको छैन । छत्रकोटमा हर्दिनेटा लगायतका स्थानमा एम्बुलेन्स सुविधा समेत छैन भने कतिपय स्वास्थ्य संस्थाका आफ्नै भवन समेत छैनन् । यसले गर्दा सेवा प्रवाहमा कठिनाई भएको छ ।
मालिका गाउँपालिकामा विजयी भएको एमालेले पनि आफ्ना चुनावी वाचा पुरा गर्न सकेको छैन । एमालेले गाउँपालिकाभित्रै रेडियो संचालन गर्ने घोषणापत्रमा उल्लेख गरेपनि उक्त बिषय गाउँपालिकाको नीति तथा कार्यक्रममै परेको छैन । निर्वाचनका बेला पालिकाभित्रै बहुमुखी क्याम्पस स्थापना गर्ने एमालेको घोषणा–पत्रमा उल्लेख छ । तर, एमालेकै नेतृत्वमा सरकार गठन भएको चौथो बर्षमा गाउँपालिकाले बार्षिक दुई लाखमा रेसुङ्गा बहुमुखी क्याम्पससँग अध्ययन सम्झौता गरेको छ । संस्कृती र पर्यटन विकासको लागि गाउँपालिकाले अर्खबाङ्गमा केबुलकारको सम्भाव्यवता अध्ययन गर्ने भनेपनि अहिलेसम्म कुनै अध्ययन नगरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले स्वीकार गरे । खामलेकमा भ्यूटावर निर्माण गर्ने प्रतिवद्धता जनाएपनि अहिलेसम्म कामको सुरुवात भएको छैन ।
कांग्रेसको पनि उस्तै ताल ः नेपाली काङ्ग्रेस सत्यवती गाउँपालिकाले आम्दानीको स्रोत बृद्धिको लागि खानी तथा खनिजको उत्खनन् गर्ने चुनावी वाचा राखेको थियो । सत्यवतीमा काँग्रेसले सरकार पनि बनायो । तर, अहिलेसम्म त्यसको लागि सम्भाव्यवता समेत अध्ययन गरेको छैन । रुद्रावती नदि लगायतका नदिमा हाइड्रोको सम्भाव्यता गर्ने लक्ष्य काङ्ग्रेसले राखेपनि अहिलेसम्म कुनै काम नभएको वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर रानाले स्वीकार गरे ।
एक वडामा एक पुस्तकालय बनाउने, गरिबको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने काङ्ग्रेस सत्यवतीको चुनावी वाचा वाचामै सिमित भएको छ । उक्त योजनाको लागि न त नीति तथा कार्यक्रम बनाइएको छ, न त बजेट नै विनियोजन भएको छ । निर्वाचनपछि गाउँपालिकाको नीति तथा योजनामार्फत संस्थागत गर्नुपर्ने योजनाहरु नीति तथा कार्यक्रममा पनि अटाएका छैनन् ।
चन्द्रकोट गाउँपालिकाभित्रका विपन्न परिवारका बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने काङ्ग्रेसको प्रमुख चुनावी नारा हो । सार्वजनिक पुस्तकालय, अक्सिजनसहितको एम्बुलेन्स संचालन, युवाहरुलाई कुलतबाट जोगिने तालिम संचालन, बृद्धाश्रम निर्माण, प्रत्येक वडामा फराकिला खेलमैदान र मिटिङ हल बनाउने काङ्ग्रेसको चुनावी प्रतिवद्धता हो । गाउँपालिका अध्यक्ष दोर्ण खत्री निजि विद्यालयका प्रध्यानाध्यापक भएकोले धेरै वाचा पुरा हुने अपेक्षा नागरिकमा थियो । तर, निर्वाचित भइसकेपछि चुनावी वाचाअनुसार काम गर्न नसक्दा नागरिकको आशा निराशामा परिणत भएको छ ।

माथि उल्लेख गरिएका पालिका त उदाहरण मात्रै हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । जसमा एमालेको तर्फबाट सात पालिकामा अध्यक्ष र नौ पालिकामा उपाध्यक्ष विजयी भएका थिए । काँग्रेसबाट चार पालिकामा अध्यक्ष र दुई पालिकामा उपाध्यक्ष, माओवादी केन्द्रबाट एक पालिकामा अध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाबाट एक पालिकामा उपाध्यक्ष निर्वाचित भएका थिए । गाउँपालिकाका अध्यक्ष सबै पुरुष छन् भने उपाध्यक्षमा ११ महिला र एकजना पुरुष छन् । त्यसैगरी वडाध्यक्षतर्फ एमालेबाट ५९, काँग्रेसबाट २९, माओवादी केन्द्रबाट चार र राष्ट्रिय जनमोर्चाबाट एकजना विजयी भएका थिए । निर्वाचित वडाध्यक्ष सबै पुरुष छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकामा कुल ५१५ जनप्रतिनिधि निर्वाचित भए । जसमध्ये एमालेबाट महिला १२८ र पुरुष २०८ गरी ३३६, काँग्रेसबाट ६६ महिला र ९१ पुरुष गरी १५७ जना निर्वाचित भए । माओवादी केन्द्रबाट पाँच महिला र नौ पुरुष गरी १४ जना एवम् राष्ट्रिय जनमोर्चाबाट तीन महिला र पाँच पुरुष गरी आठजना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
निर्वाचित अधिकाशं पालिकाका विजयी दलले आफ्नो घोषणापत्र फर्केर नहेर्दा कामले गति लिन सकेको छैन । गुल्मीदरबार र कालिगण्डकीमा भने कांग्रेसले घोषणा–पत्र नै नबनाईकन मौखिक प्रतिवद्धताका आधारमा चुनाव जितेको थियो । रुरुक्षेत्र, मदाने, धुर्कोट लगायतका पालिकामा पनि सम्बन्धित दलको प्रतिवद्धताअनुसार काम भएका छैनन् । त्यति हुँदाहुँदै पनि जिल्लामा भौतिक संरचनाका हिसाबले धुर्कोट गाउँपालिका अगाडी रहेको छ ।

प्रतिपक्ष पनि रमिते बने

विजयी भएका दलहरुले काम गर्न नसक्दा प्रतिपक्षि दलहरुले खबरदारी गर्नुपर्ने हो । तर जिल्लामा केही पालिकाका प्रमुख प्रतिपक्षि दलले बाहेक अन्य पालिकामा प्रतिपक्षि दल पनि रमिते बने । काँग्रेसले इस्मा, मुसिकोट र रेसुङ्गा नगरपालिकाले गरेको गलत कामको बिरुद्ध छिटफुट आवाज उठायो । तर, जनताको जीवनस्तर, कोभिड नियन्त्रण, विकास निर्माण, अनियमितता लगायतका बिषयमा प्रतिपक्षि दलले समेत पाँच बर्षसम्म बिषय नै नउठाएको बताउछन्, पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्याल ।
‘सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष दल नै रमिते बने,’ अर्यालले भने, ‘स्थानीय तहको गठनपश्चात धेरै राम्रा काम भएपनि जनअपेक्षाअनुसार काम भएको छैन ।’ पालिकाहरुले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्न खोजेपनि निर्वाचनका बेला ठुला आश्वासन देखाउँदा नागरिकमा निराशा छाएको अर्यालले बताए । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले भने नेकपा एक हुँदा तीन बर्षसम्म सत्तापक्ष नै भएकोले जनप्रतिनिधिलाई पार्टीको तर्फबाट सुझाव दिएको बताउछन् । त्यसयता मुसिकोट, मालिका लगायतका पालिकामा अन्य दलहरुसँग पनि सहकार्य गरेर खबरदारी गरेको जिसीको भनाई छ ।
काम गर्दै छौ ः स्थानीय सरकार
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले भौगोलिक कारणले धेरै योजना पुरा गर्न नसकेको बताए । खनिज उत्खनन्, रिङरोड, हाइड्रो लगायतका योजना पुरा गर्न प्रयास गरेपनि सम्भव नभएको उनको भनाई छ । इस्मा गाउँपालिका प्रमुख लक्षमण विष्टले निर्वाचनमा बोलेकामध्ये ७५ प्रतिशतभन्दा बढी काम भएको दाबी गरे । रिङरोडको लागि यो बर्ष ट्र्याक खोलेर सकिएको, कृषि उपज संकलन केन्द्र छल्दीमा बनाउँदै गरेको, भ्यू टावरका लागि बजेट बिनियोजन गरिएको विष्टले बताए । मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले स्टिल पोलको लागि प्रदेशले बजेट बिनियोजन गरेको बताए । रेडियो र क्याम्पसको लागि सम्भाव्यवता अध्ययन गरेपनि गाउँमा चल्न नसक्ने भएकोले स्थापनातर्फ नलागेको उनको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता