दुधे उमेरमा दैवले आमाबाबु दुवै खोस्यो : मुसिकोटका दुई बालकको विचल्ली !



गुल्मी माघ १८ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमीकी पार्वती वि.कले गत पौष ५ गते ट्याक्टर दुर्घटनामा ज्यान गुमाईन् । माईत जान भनेर हिँडेकी उनी फर्केर कहिले घर नआउने गरी सधैका लागि अस्ताईन् ।

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्दै आएकी पार्वतीको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आईलाग्यो । उनका श्रीमान गोपाल बिक पहिले देखि मानसिक विरामी थिए । उनलाई श्रीमतीले औषधि उपचार र रेखदेख गर्दै आएकी थिईन् । श्रीमतीको मृत्यु पछि २ बच्चाको लालनपोषण गर्ने जिम्मा तिनै विरामी गोपाल माथि आयो ।

यसैपनि पहिलेदेखि घर खर्च विकले मेलापात गरेर गर्दै आएकी थिईन् । श्रीमती गुमाउनु पर्दाको असह्य पीडा र आर्थिक अभाव बढ्दै जान थालेपछि गोपाललाई मानसिक रोगले झनै च्याँप्न थाल्यो । रेखदेख गर्दै आएकी श्रीमतीको मृत्युपछि उनलाई समयमा औषधी खुवाउने मान्छे भएन । फलस्वरुप उनको रोग झनै बल्झिँदै गयो ।

यही विविध पीडा सहन नसकेपछि गोपालले आफुले पनि माघ १३ गते आत्महत्या गरे । आमा बुबाको न्यानो मायामा हुर्किने उमेरमा दुई अवोध छोराहरुले १ महिनाको अवधीमा बाबु आमा दुवै गुमाए । यसैपनि दैनिक जीवनयापन गर्न समेत कठिनाई भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यतिबेला ठुलो बज्रपात आईलागेको छ ।

मृतक दम्पतीका ५ र ८ वर्षीय दुई छोरा छन् । उनीहरुको अहिले बिचल्ली भएको छ । उनीहरुको लालनपोषण र पढाई खर्च जुटाउने मान्छे अव कोही छैन् । उनीहरुको रेखदेख गर्दै आएकी हजुरआमा पनि सुस्त श्रवणकी छन् । उनी आफैलाई कसले सम्हाल्ने भन्ने बेलामा ती दुई अवोध बालकहरुको जिम्मेवारी काँधमा थपिएको छ । उनी राम्रोसगं बोल्न र काम गर्न सक्दिनन् ।

मुसिकोट नगरपालिका वडा नं ५ का वडासदस्य लालुराम अर्यालका अनुसार उनीहरुको सम्पत्तिको नाममा एउटा घर मात्रै छ । गरि खाने खेतबारी पखेरो छैन् । हुँदो हो पनि गरिखाने मान्छे नै दैवले खोस्यो । अर्यालले यो परिवारमा आईपरेको बज्रपातले सिगों गाउँनै पीडामा रहेको सुनाए ।

घरका दुई मुली मान्छेकै मृत्यु भएपछि अब यी बालकहरुको रेखदेख कसले गर्ने भन्ने भएको छ । अर्को तर्फ आर्थिक अभाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पिरलो पनि थपिएको छ । उनीहरुले गाउँकै मालिका विद्या मन्दिर प्राविमा अध्ययन गर्दै आएका छन् ।

घरमा खाने अन्न छैन्, बच्चाहरुको विचल्ली हुन नदिन आफुले वडा कार्यालय र नगरपालिकामा कुरा राखेर सहयोगका लागि सक्दो पहल गर्ने वडा सदस्य अर्यालले बताए । त्यस्तै उनले देश विदेशमा रहने सम्पूणर् नेपालीलाई सहयोग गर्न समेत अनुरोध गरे ।

सोही ठाउँकै सुरज भट्टराईले उनीहरुको उद्धारका लागि सहयोग अभियान चलाउन लागिएको बताए । धेरै थोरै जति भएपनि सहयोग गरेर यी बच्चाहरुको भविष्य उज्यालो बनाउने अभियानमा लाग्न उनले सबैसगं अनुरोध पनि गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता