धुर्कोटका १८ विपन्न परिवारलाई निःशुल्क घर



हुमाकान्त पोखरेल÷
गुल्मी, १७ चैत । धुर्कोट गाउँपालिका –७ वाग्लाका १८ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी परिवारलाई सरकारको तर्फबाट निःशुल्क घर उपलब्ध गराइएको हो । वाग्लाको कोत नजिकैको बस्ती तलबाट मोटरबाटो खन्दा सिंगो बस्ती जोखिममा प¥यो । पहिरोले तीन घर लग्यो पनि । जोखिमलाई मध्यनजर गर्दै जनप्रतिनिधिहरुको पहलमा जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीमार्फत घर तथा जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पामार्फत पूर्वाधारको काम हुनेगरी बस्ती स्थानान्तरणको काम अगाडी बढ्यो । बडाचौरमा स्थानान्तरण गर्न थालिएको एकीकृत बस्तीको अहिले काम सम्पन्न भई लाभग्राही परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष हिम प्रसाद पन्थीले अधिकाशं परिवार नयाँ घरमा बसाई समेत सरेको जानकारी दिए । हाल उक्त योजनाको स्वामित्व लिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई, भवन तथा आवास गुल्मीका इन्जिनियर घनश्याम यादवले कुल एक करोड ६२ लाखमा एकीकृत बस्ती निर्माण गरिएको बताए । जसमा जग्गा खरिदमा प्रत्येक घरलाई दुई लाखका दरले ३६ लाख, घर निर्माणको लागि तीन लाखका दरले ५४ लाख तथा पूर्वाधार निर्माणका लागि चार लाखका दरले ७२ लाख खर्च भएको यादवले बताए । अहिले उक्त बस्तीमा पानीको धारा, ट्याङ्कि, प्रवेशद्धार, बस्तीभित्र बाटो, चैतारो, कम्पाउन्ड लगायतका संरचना बनाइएको यादवको भनाई छ । बस्तीको लागि २३ रोपनी जग्गा खरिद गरिएको थियो । निर्माण गरिएका घर वरपर कम्पाउन्ड छ भने दुईवटा कोठा रहेका छन् । घरहरु सबै एकतले बनेका छन् । कतिपयले आफ्नै लगानीमा पाली समेत राखेका छन् ।

नयाँ घर पाएपछि स्थानीय पनि खुसि भएका छन् । कोत नजिकै बस्दा बर्षायाममा पहिरोको डर भएपनि बडाचौरमा प्राकृतिक विपत्तिको धेरै जोखिम नभएको स्थानीय ६८ बर्षिया ढाले दमाईले बताए । अर्की स्थानीय काली कामीले घर बनेपछि आफुहरु खुसि भएको प्रतिक्रिया दिइन् । ‘माथि (कोतनजिकै) बस्दा पहिरोको जोखिमले रातभर निद्रा लाग्ने थिएन ।’ उनले भनिन्, ‘अहिले ढुक्कसँग निदाउन पाइएको छ ।’
भगवती माध्यमिक विद्यालय कक्षा नौ मा अध्ययनरत छात्रा मनिषा विकले नयाँ बस्तीमा आएसँगै पढाइमा सहजता मिलेको बताइन् । ‘अहिले दुईवटा कोठा छन्, पढ्नको लागि समय र ठाउँ मिलेको छ ।’ विकले भनिन् । त्यस्तै स्थानीय मिना विकले नयाँ बस्ती निर्माण गरिदिएकोमा गाउँपालिकालाई धन्यवाद् दिदैँ आफुहरुलाई रोजगारीको पनि व्यवस्था गरिदिन आग्रह गरिन् ।

बसाई सरेसँगै भएको सम्पत्तिमा पनि खेती गर्न सम्भव नभएकोले कुनै रोजगार दिएमा जिविकोपार्जको लागि सजिलो हुने उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पालिकाको लागतमा लाभग्राही परिवारको चर्पी बनेको दाबी गरे । त्यसका साथै एकीकृत बस्तीमा बसाई सरेका परिवारको लागि रोजगारी, खानेपानीको सुविधा लगायतका बिषयमा गाउँपालिकाले काम गर्ने प्रतिवद्धता जायर गरे । ‘निर्वाचनमा नयाँ घर बनाइदिने प्रतिवद्धता गरेका थियौँ ।’ अध्यक्ष पोखरेलले भने, ‘अहिले चुनावी बाचा पुरा भएको छ ।’ गाउँपालिका उपाध्यक्ष शिव बहादुर केसीले सुरक्षित आवास नागरिकको अधिकार भएकोले आफुहरुले आफ्नो कर्तव्य पुरा गरेको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता