विद्यार्थी र अभिभावकलाई स्वास्थ्यकर्मीको स्वास्थ्य सचेतना



असोज २ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका–८ स्थित थानपति आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकलाई स्वास्थ्य सचेतना शिक्षा प्रदान गरिएको छ।
मर्भुङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले विद्यार्थी र अभिभावकलाई विभिन्न स्वास्थ्य सम्बन्धी जानकारी दिएका हुन्।
मर्भुङ स्वास्थ्य चौकीका प्रमुख धर्मराज माझीले जङ् फुडको अत्यधिक प्रयोगले स्वास्थ्यमा पार्ने असर र यसको सट्टा प्रयोग गर्न सकिने पोषणयुक्त घरेलु खानाका बारेमा प्रशिक्षण दिएका थिए। त्यस्तै स्वास्थ्यकर्मी हिमाल धर्तीले सर्ने र नसर्ने रोगहरू तथा क्यान्सरसम्बन्धी जानकारी दिए भने अर्का स्वास्थ्यकर्मी शुसिल अर्यालले खोप, पोषण र नियमित व्यायामको महत्वबारे अभिभावक र विद्यार्थीलाई जानकारी प्रदान गरे।
कार्यक्रममा सरसफाइ, दैनिक जीवनमा खानपानमा ध्यान दिनुपर्ने पक्षहरू, पछिल्लो समय गाउँघरमा देखापर्न थालेका रोग र नागरिकको विलासी जीवनशैलीले पारेको असरबारे पनि विस्तृत जानकारी दिइएको थियो । साथै, गर्भवती महिला, सुत्केरी महिला र नवजात शिशुको हेरचाहसम्बन्धी महत्वपूर्ण सन्देशहरू पनि कार्यक्रमको मुख्य विषय बने।
शिक्षासँगै स्वास्थ्यलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र यसले उत्कृष्ट प्रभाव पारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
त्यस्तै मर्भुङ स्वास्थ्य चौकीका प्रमुख धर्मराज माझीले पनि कार्यक्रम समयानुकूल र उदाहरणीय भएको बताए। विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले शिक्षा र स्वास्थ्य एकअर्काको अभिन्न हिस्सा भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक राजु पौडेलले गरेका थिए।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता