मदाने गाउँपालिका बन्यो गुल्मीको दोस्रो खरका छाना मुक्त स्थानीय तह



२७ फागुन, गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । पालिकाभित्रका सबै घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाता लगाएर सकिएपछि बिहीबार पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो ।

सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गर्नुभयो ।

खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा ७२९ परिवारले जस्तापाता लगाएका छन् । उक्त कार्यका लागि विभिन्न आर्थिक वर्षमा गाउँपालिकाको रु दुई करोड ८४ लाख ३७ हजार ४२० खर्च भएको छ । आव २०७४÷०७५ मा नौ लाख ६९ हजार ७३८, ०७५÷७६ मा २३ लाख ७८ हजार ६० एवं ०७६÷०७७ मा रु एक करोड ६३ लाख ६६ हजार ६२२ खर्च भएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिए ।

गाउँपालिकाका कूल ७२९ घरले खरको छाना हटाएर निःशुल्क जस्तापाता लगाएका छन् । गाउँपालिकाको वडा नं १ अग्लुङमा १४१, वडा नं २ बाँझकटेरीमा १८०, वडा नं ३ सिर्सेनीमा १४५ वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएका छन् ।

त्यस्तै वडा नं ४ म्यालपोखरीमा ३२, वडा नं ५ मलयागिरीमा १०७, वडा नं ६ पुर्कोटदहमा ५२ र वडा नं ७ भनभनेमा ७० वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र विभिन्न कार्यक्रममार्फत थप ३२५ वटा घर निर्माण गरिएको छ । एकीकृत बस्तीअन्तर्गत १७, भूकम्पपश्चात् निजी आवासअन्तर्गत १४१, सुरक्षित नागरिक आवासअन्तर्गत १२८, जनता आवासअन्तर्गत सात र नमूना बस्तीअन्तर्गत ३२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

सांसद विष्टले गरिबी र अभावका बीचमा पनि ग्रामीण भेगमा जस्तापाता लगाउनु ठूलो सफलता भएको जानकारी दिनुभयो । “खरको छानो भएको घरमा हुने पीडाबाट बाहिर निस्कन सकेका छौँ”, उनले भने, “जिल्लाभर सबै पालिकामा खरको छानोमुक्त बनाउने अभियान चलिरहेको छ ।” मदाने खरको छानोमुक्त हुने जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त घोषणा भइसकेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता