राजनीति – विचार कि अवसर ?



कुनै पनि व्यक्तिलाई राजनीति प्रति स्वतन्त्र रुपमा आफ्नो विचार तथा आस्था राख्ने पुर्ण अधिकार रहेको हुन्छ।त्यसैले गर्दा पनि राजनीतिलाई एउटा विचारको रुपमा परिभाषित गर्न सकिन्छ तर यसलाई पारिवारिक माहोल सङ्गै समाजमा रहेका विभिन्न व्यक्तिहरुको विचार तथा प्रभावले पनि निकै फरक पार्ने गर्दछ। पछिल्लो समय नेपालको राजनीतिक क्षेत्रमा तल्लो निकाय देखि माथिल्लो निकायसम्म नै राजनीतिलाई विचार भन्दा पनि अवसरले डोर्याईरहेको जस्तो देखिन्छ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले बेलाबेलामा पार्टी फेरिरहेका हुन्छन किनकि धेरैले सिद्धान्त भन्दा आफ्नो स्वार्थको लागि भएपनि अवसर नै खोजिरहेका हुन्छन। देशमा निर्वाचनको मिती घोषणा भए सङ्गै साना तथा ठुला दलका नेताहरु जसरी भएपनि आफ्नो जीत हात पार्नको लागि एक अर्कामा गठबन्धन गरेर जाने रस्साकस्सी गरिरहेका छन।

विगतको निर्वाचनमा पनि नेकपा एमाले र माओवादी केन्द्र विच गठबन्धन गरेर नै दोस्रो ठुलो दल नेपाली काङ्ग्रेसलाई २३ सिटमा सीमित बनाएका थिए तर नेताहरु देश र जनताप्रति उत्तरदायी भएर काम गर्न सकेनन जसको उदाहरण हालको राजनीतिक अवस्थाले देखाएको छ। अब हुने गठबन्धनको नतिजा पनि कस्तो आउछ्ँ त्यसको फैसला पनि जनताहरुले नै गर्नेछन। देशमा अस्थिर राजनीतिक प्रणाली प्रमुख समस्याको रुपमा देखिएको छ।

जसले गर्दा वर्ष दिन नपुग्दै पटक पटक विभिन्न पदका मन्त्रीहरु फेरबदल गरिरहने प्रवृत्ति नै हावी भएको छ।नेताहरुले विभिन्न ठाउँमा दिने गरेका भाषणहरु सुन्दा त असाधारण अवस्थामा, नेताहरू बीच अहंकारको द्वन्द्वका कारण राजनीतिक विरोध कहिलेकाहीँ व्यक्तिगत प्रतिस्पर्धामा पनि परिणत हुने होकि जस्तो लाग्दछ ।

नेपालमा राजनीतिको व्यथितिको अवस्था देख्दा नेताले जनतालाई राजनीतिक संस्कार सिकाउने कि जनताले नेतालाई सिकाउने भन्ने कुरा सोच्न बाध्य भइन्छ। विभिन्न राजनीतिक दलका नेताहरु तथा कार्यकर्ताहरुबाट विश्वास, इमानदारीता , प्रतिबद्धता र संस्कार विस्तारै हराउदैँ गएको हो कि भनेर पनि जनताहरुले सोच्नुपर्ने अवस्था सिर्जना भएको छ।

आफ्नो कार्यकालसमय अवधि भित्र अवसर र पहुँच हुदाँ हुदैँ पनि देश र जनताको हितमा कुनै सम्झनालायक कार्य नगर्ने तर चुनावी प्रसारप्रचारको भाषणमा गएर एक अर्कालाई आरोप प्रत्यारोप लगाउने र कार्यकर्ताहरुले त्यसैलाई समर्थन गर्दै ताली पिट्ने प्रवृत्ति निकै नै हावी भएको छ । माथिल्ला तहका नेताहरु कतिबेला कुन पार्टी सङ्ग मिलेर अघि बढ्छन भन्ने कुरा थाहा नै हुदैँन तर कार्यकर्ताहरु विच भने पार्टीगत विचारले गर्दा एक अर्कामा झै- झगडा गरेर कुटपिट देखि हत्यासम्मको प्रयास गरिरहेका हुन्छन।

उच्च तहका नेताहरुमा देखिएको कमजोर अपरिपक्वताको निर्णयले गर्दा देशमा राजनीतिक अवस्था बिग्रदै गएको देखिन्छ सत्तामा हुदाँ आफुले लिएको नीति राम्रो हुने तर सत्ता बाहिर गएपछि सोहि नीति नै गलत हुने जस्ता सोचहरु जहिले सम्म रहिरहन्छन त्यतिन्जेलसम्म देशले राजनीतिक क्षेत्रबाट सहि निकास पाउन सक्दैन।

देशमा गणतन्त्र प्राप्तिका लागि १० वर्षे जनयुद्ध भयो तर देशको विकास र जनताका जीवनस्तर उकास्नको लागि कुनै किसिमका पनि परिवर्तन देखिएनन देखियो त केवल नेताहरु र उनिहरुका आसेपासेहरुको लागि मात्रै सफल देखियो त्यसैले यतिबेला धेरै जनताहरुमा कतै राजतन्त्रको कमि त भएको हैन भन्ने सोच आएको पनि देख्न सकिन्छ। संविधानले प्रत्याभुत गरेका नागरिक अधिकारहरु पनि कागजि पानामा मात्रै सिमित हुन पुगेका छन।

१० वर्षे जनयुद्ध पश्चात प्राप्ति गणतन्त्र सङ्गै २०६४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहिलो भएको नेकपा माओबादी केन्द्र यतिबेला आफैँमा समालिन नसक्ने गरि तितरबितर भएको छ। यसैगरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा माओबादी केन्द्र सङ्ग गठबन्धन गरी पहिलो भएको नेकपा एमाले पनि यतिबेला विभाजित भएको छ साथै एउटै विचार र उद्देश्य बोकेर हिडेका नेताहरु एक-आपसमा मिल्न नसकि एक अर्कालाई नै दोष लगाएर अवसर कै लागि नै फुटिरहेका छन।

नेपाल कम्युनिस्ट पार्टी अहिले विभाजित र गालिगलौजको प्रतिस्पर्धामा लागेको छ। चुनाव जितेर गएका नेताहरुमा देश र जनताका लागि वाचा गरेका ति प्रतिबद्धताहरु राजनीति अवसरमा बदलिन्छन भने किन सिँहदरबार छिर्नु? चुनावको बेलामा जनताहरुको घर -घरमा गएर गरेका ति वाचाहरु पुरा गर्न किन सक्दैनन ? के ति वाचाहरु जनतालाई झुक्याएर भोट माग्न कै लागि गरिएका हुन त ?

फेरि ५ वर्ष पछि पनि त्यहि अनुहार लिएर तिनै जनताका घर दैलोमा किन पाइला टेक्न जानु ? ५ वर्ष बितिसक्दा पनि जिल्लामा सडकको अवस्था झन-झन बिजोक हुदैँ गएको छ, स्वास्थ क्षेत्रको अवस्था पनि उत्तिकै नाजुक छ भने शिक्षा क्षेत्रमा कुनै सुधार भएको छैन,जनताका जीवनस्तर पनि दयनीय बन्दै गएको छ,युवाशक्ति जति सबै रोजगारको लागि विदेश पलाएन भएका छन र फेरि पनि जनताहरुलाई उहिँ झुटो आश्वासन दिन नेताहरुलाई के आफ्नो नैतिकताले दिला त ?

नेपालको इतिहास कालदेखि वर्तमान अवस्था सम्मको कालखण्डलाई हेर्दा नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ। त्यो हो, युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता र शक्तिमा पुगेपछि बाजुञ्जेलसम्म नै पदको मोह रहिँरहनु।अहिलेका नयाँ पुस्ताहरुमा क्षमता हुदाँहुदै पनि अवसर नपाउनु नै देशको लागि घातक भएको छ ।

क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाड्ने प्रवृत्तिले गर्दा नै नेपालमा राजनीतिको चाबी अझैँ पनि उहीँ पुराना पुस्ताका नेताहरुको हातमा रहेको छ भने पहिलो पटक ४८ वर्षको उमेरमा प्रधानमन्त्री बनेका शेर ब.देउवा अझै पनि ७६ वर्षको उमेरमा पाचौँ पटक प्रधानमन्त्री भएर देश हाकिरहेका छन र हामीले उहाँबाट कस्तो किसिमको अपेक्षा गर्ने ?

के उनको पार्टीमा उहाँभन्दा सक्षम व्यक्ति नै थिएनन त? फेरि अवसर पाए प्रचण्ड , केपी ओलि र माधव नेपाल पनि प्रधानमन्त्री बन्ने दाउ पर्खेर बसिरहेका छन। यसकारण पनि नेपाली राजनीतिक क्षेत्रमा “एक व्यक्ति एक पद एकपटक “भन्ने नीति लागु हुन निकै जरुरी रहेको छ। आफ्नै पार्टीका माथिल्ला तहका नेताहरुले लिएको गलत निर्णय विरुद्ध कुनै पनि आवाज निकाल्न नसक्नु नै आजका युवा नेताहरुमा देखिएको प्रमुख समस्या हो। जुनसुकै पार्टीको सरकार गठन भएपनि क्षमता र योग्यता भएका व्यक्ति भन्दा पनि गुटबन्दीको आधारमा भागबन्डा गर्ने प्रचलन रहेको छ जसले गर्दा विभिन्न व्यक्तिहरुले अवसर त पाउँछन तर देश सक्षम र योग्य व्यक्तिहरुका हातमा पर्दैन फलस्वरुप देश विकास भन्दा पनि भ्रष्टाचार तिर लागिरहेको हुन्छ ।

राजनीतिलाई विचार भन्दा पनि अवसरको रुपमा प्रयोग गर्ने नेताहरुबारे अब जनताहरु बेलैमा सचेत हुन जरुरी रहेको छ। विगतका चुनावको नतिजा परिमाण भन्दा यसपालीको स्थानीय तहको चुनावी नतिजा फरक देखिएको छ जहाँ काठमाडौं महानगरपालिका तथा केहि उपमहानगरपालिकाहरुमा स्वतन्त्र उम्मेदवारहरुले जीत हासिँल गरेका छन यसबाट पनि पहिले भन्दा जनताहरु अलिक सचेत भएका हुन कि भनेर अनुमान लगाउन सकिन्छ।

आउँदो प्रतिनिधि सभा आमनिर्वाचनमा फेरि पनि केहि स्वतन्त्र उम्मेदवारहरु तथा राष्ट्रिय स्वतन्त्र पार्टीले केहि ठाउँमा पुराना दलका नेताहरुलाई धक्का दिन सक्ने सम्भावना देखिएको छ यदि जनताले साथ दिएमा।यतिबेला धेरै जनताहरुमा यी पुराना दलहरु प्रति अविश्वास बढ्दै गएको छ किनभने पटक-पटक भोट दिएर जिताए पनि नेताहरुले आफ्नो जिम्मावारी वहन नगरेको हरेक पटक देखिएको छ। उनीहरूले आफ्नो र आफ्ना परिवारको हितको लागि मात्रै काम गरेको देखिएको छ।जिम्मेवारी पाएर पनि विकासको गति,नागरिकको जीवनस्तरमा कुनै पनि परिवर्तन गर्न नसकेका र राजनीति परीक्षणमा असफल भइसकेका राजनीतिक नेताहरू सत्ताका लागि फेरि पनि आउँदो निर्वाचनमा उम्मेदवार भएर आउने तयारी गरिरहेका छन।

देशमा बढ्दै गैइरहेको भ्रष्टाचार , महङ्गि, बेरोजगार र बलत्कारी जस्ता थुप्रै घटनाहरु मौलाएको देख्दा पनि जनताहरुले युवाशक्ति सहितको नयाँ पार्टी ,सक्षम र योग्य नयाँ अनुहारहरु खोजिरहेका छन। प्रष्ट भिजन ,स्पष्ट नीती बिनाका नेताहरुको हातमा नेतृत्व पुग्दा देशले अहिलेसम्म सोचेजति परिवर्तनको फड्को मार्न सकेको छैन यसैकारणले गर्दा देशमा विकाशका विभिन्न योजनाहरु पारित भएतापनि कार्यन्वयन हुनमा ढिला सुस्ति साथै कच्चा तरिकाले काम सम्पन्न भएका कार्यहरु धेरै छन त्यसैले देशमा यसरी बढिरहेका बेथितिहरुलाई नियन्त्रण गर्न भएपनि हामी जनताहरु बेलैमा सचेत हुन जरुरी रहेको छ।

राजनीतिको माध्यमबाट सहि विचार लिएर सहि समयमा सहि ठाउँमा पाइला टेकेर अघि बढ्न सक्ने हो भने राजनीति एउटा सुनौलो अवसर पनि हो। राजनीतिलाई एउटा अवसर सोचि अबको आउने निर्वाचनमा ठुला राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले पनि युवा नेताहरुलाई ठाउँ दिन जरुरी रहेको छ किनभने “युवाशक्ति विश्वको कुनै पनि राष्ट्रको लागि विकाशको प्रमुख मेरुदण्द हो जहाँ परिवर्तन तिनै युवाशक्ति बाट मात्रै सम्भव हुन्छ” त्यसैले राजनीतिलाई अवसर र पेशाको रुपमा नहेरी स्वच्छ विचार धाराबाट नै देशमा सामाजिक तथा आर्थिक विकाश गर्न जरुरी रहेको छ।

मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी हाल जापान ओसाका

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता