सामुदायिक रेडियो पुष्पाञ्जली वामीको चौँथो साधारण सभा सम्पन्न ः अध्यक्षमा दिनेश खाति चयन



सागर भण्डारी -माघ ४, गुल्मी ।

गुल्मी जिल्लाकै दोस्रो सामुदायिक रेडियो सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको चौथो साधारण सभा तथा आठौँ वार्षिक भेला वामीमा सम्पन्न भएको छ ।
परोपकार सहकारी संस्थाको सभाहलमा सम्पन्न सभाको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख सापकोटाले गुल्मी जिल्लामै पहिलो पटक आफ्नै भवनबाट प्रशारण थाल्नु रेडियोको ठुलो उपलब्धी भएको बताउनुभयो । त्यस्तै उहाँले सञ्चार माध्यम प्रतिपक्षको भुमिकामा रहनुपर्ने भन्दै पत्रकारलाई सार्वजनिक निकायमा भएका अनियमितताहरुको खबरदारी गरी जनतालाई सुसुचित गर्ने काममा निडर भएर लाग्न उहाँले आग्रह गर्नुभयो । मुसिकोट नगरपालिकामा रेडियो जस्तै अन्य संस्थागत विकासले विकासको आयाम थपिएको उहाँको भनाई थियो । रेडियोका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तैयार रहेको सापकोटाले बताउनुभयो ।

त्यस्तै सोही अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथि एवम् मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेले राज्यको चौँथो अगंको रुपमा रहेका सञ्चार माध्यमहरु निष्पक्ष हुनुपर्ने बताउनुभयो । काफ्लेले पछिल्लो समय भएको प्रविधिको विकाससगं सगैं रेडियोलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उक्त अवसरमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुदर्शन शाक्यले रेडियोलाई समयानुसार प्रविधिमैत्री बनाउँदै लैजाने र हाल १ सय वाटमा प्रशारण भईरहेको रेडियोको प्रशारण क्षमता बढाउने बताउनुभयो । त्यस्तै प्रतिवेदन प्रस्तुत गर्दै उहाँले रेडियोमा काम गर्ने कर्मचारीहरुको क्षमता वृद्धि गरी रोजगारीको ग्यारेन्टी गर्ने कार्यलाई अगाडी बढाईने पनि बताउनुभयो ।
सोही अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिनेश खातिले गुल्मी जिल्लामा रहेका अन्य व्यवसायिक र सामुदायिक रेडियो मध्ये रेडियो पुष्पाञ्जलीले पहिलो पल्ट आफ्नै भवनबाट प्रशारण आरम्भ गरेको बताउनुभयो । उहाँले आय व्यय प्रस्तुत गर्दै सम्पूर्ण शेयर सदस्य, भवन निर्माण समिति, जग्गादाता र कर्मचारीहरुकै सक्रियताले रेडियो यहासम्म आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै शेयर सदस्य झविलाल भण्डारीले रेडियो मुसिकोट नगरपालिकाकै गहना भएकाले स्थानीय तहको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । त्यस्तै मोहन घिमिरेले रेडियो सञ्चालनका लागि आएका विभिन्न चुनौतीलाई सामना गरेर रेडियोले गरेको प्रगतिको उच्च मुल्याकंन गर्दै पत्रकारको क्षमता अभिवृद्धि, जीवन निर्वाह हुने पारिश्रमिकको व्यवस्था हुन सके रेडियो अझै उत्कृष्ट बन्ने सुझाव दिनुभयो । सञ्चार माध्यमलाई निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न र पत्रकारलाई हतारको पत्रकारिता नगर्न हरिनारायण सापकोटाले सुझाव दिनुभयो ।
सोही अवसरमा बोल्दै अर्का शेयर सदस्य विष्णु कुमारी सापकोटाले रेडियोमा काम गर्ने सञ्चारकर्मी र पत्रकारहरुको जीवन निर्वाह हुने पारिश्रमिकको व्यवस्था हुनुपर्ने भन्दै निडर, स्वतन्त्र र खोज पत्रकारिताको माध्यमबाट समाजको सुधारक बन्न आग्रह गर्नुभयो ।
सोही अवसरमा बोल्दै भवन निर्माण समिति सयोंजक अग्नीधर लोहोनीले सामुदायिक रेडियोमा राजनैतिक गधं आउन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले रेडियोको वृद्धि विकासका लागि सबै शेयर सदस्यहरु लाग्नुपर्ने बताउनुभयो ।

साधारण सभाको अवसर पारेर रेडियोको भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने वरिष्ठ जग्गादाता गोविन्द सापकोटा र उहाँको छोरा अर्जुन सापकोटालाई सम्मान गरिएको थियो । त्यस्तै रेडियोलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने संस्थापक पदाधिकारीहरु, शेयर सदस्यहरु, सल्लाहकारहरु, सहयोगीदाताहरु, मुसिकोट नगरपालिका, नगरप्रमुख वडाध्यक्षहरु, पूर्व कर्मचारी, कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।
आज सम्पन्न भेलाले दिनेश खातिको अध्यक्षतामा नयाँ सञ्चालक समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विवेक काफ्ले, सचिवमा सुन्दर प्रधान, सहसचिवमा कौरव खत्री, कोषाध्यक्षमा अर्जुन सापकोटा, सहकोषाध्यक्षमा विष्णु आचार्य निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मोहन घिमिरे, गोपालमणी सापकोटा, लोकनाथ काफ्ले, गोपाल बौद्धाचार्य र चयन हुनुभएको छ ।
रेडियोका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आथिथ्यता, वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेको विशेष आथिथ्यता रहेको थियो । रेडियोका संस्थापक उपाध्यक्ष भिमसेन केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सरोजराज बौद्धाचार्यले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता