रेसुङ्गा नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न !



पुस- १४ गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकमा गरिएका गतिविधि सार्वजनिक गरेको छ । नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा नगरपालिकाको वडा नम्बर ४ को वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गएको ४ वर्षमा भएका मुख्य उपलब्धि समेत सार्वजनिक गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरका सम्पुर्ण गतिविधिको सम्बन्धमा जानकारी गराउनु भएको थियो । भौतिक संरचनाको निर्माणसँगै शिक्षा क्षेत्रमा गुणस्तरीयता थपिएको, सबै नागरिकलाई आधारभूत खानेपानीको व्यवस्था गरिएको, सबै वडामा सडक संजालहरु निर्माण गरिएको, प्रत्येक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा ४ हजार ७ सय ५० जनालाई सीपमूलक तालिम प्रदान मार्फत रोजगार दिइएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराउनु भएको थियोे ।

नगरले अहिलेसम्म १५ किलोमिटर सडक पिच गरेको, १ सय ५० किलोमिटर ग्रावेल गरेको, १ सय ९० किलोमिटर कच्ची सडकको ट्रायक खोलेको र ७ सय ५० किलोमिटर सडकको स्तरउन्नति गरिएको पनि मरासिनीले जानकारी गराउनु भएको थियो ।

अहिलेसम्म रेसुङ्गा नगरपालिकाले ९ सय ३५ घरधुरीलाई खरको छाना मुक्त गरेकोले अब छिट्टै नगरपालिकालाई खरको छाना मुक्त नगर घोषणा गर्न पनि बताइएको छ । नगरपालिकाले ३ वटा झोलुङ्गे र २ वटा पक्की पुलको निर्माण गरेको छ ।

नगरले अहिलेसम्म ४ सय ६५ घरधुरीलाई विपद् मा त्रिपाल वितरण र पहिरोबाट प्रभावित ३४ घरको निर्माण कार्य सुरु हुन लागेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
रेसुङ्गा नगरपालिका अहिले आफ्नै भवनमा रहेको छ । ११ वटा वडाका कार्यालय पनि आफ्नै भवनमा रहेको नगरका कार्यालय प्रमुख भक्तिराम मरासिनीले बताए । बाँकी ३ वटा वडाको पनि छिट्टै काम हुने बताइएको छ । हस्तलिखित सेवाको अन्त्य गरि सबै काम आइसीटी प्रक्रियाबाट गर्न लुम्बिनी प्रदेशमा रेसुङ्गा नगर पहिलो भएको पनि जानकारी गराइएको थियो । नगरमा अहिले १६ स्थानबाट साना तथा ठूला स्वास्थ्य समस्याको उपचार हुदै आएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरले अहिलेसम्म ४१ वटा आफ्नै कानुन बनाएर काम अगाडि बढाएको समेत कार्यालय प्रमुख मरासिनीले जानकारी गराएका थिए । ४ महिनामा नगरका १ सय ५ वटा योजनाहरु सम्झौता भएका छन् । जसमध्ये ३० वटा योजना सम्पन्न भइसकेका छन् । बोलपत्र आवह्नन गरेर नगरले १८ वटा योजनाको निर्माण कार्य सुरु गरेको छ । कृषि र पशुका विभिन्न कार्यक्रम पकेट क्षेत्र छुट्टाएर सुरु गरिएको छ । दलित किशोरीलाई पलम्बर तालिम दिने नगरको कार्यक्रम समेत सुरु भएको छ ।

नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्न पनि पहिलो चरणको काम सकेको छ भने दोस्रो चरणको कार्यक्रम बृहत रुपमा गरिने छ ।

नगरपालिकाले ४ महिनामा २२ प्रतिशत वित्तीय प्रगति र ३५ प्रतिशत भौतिक प्रगति गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले आफ्ना समस्या र केही गुनासा राखेका थिए । गुनासोको सम्बन्धोन नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, सम्बन्धित वडाध्यक्ष र सम्बन्धित बिषयगत शाखाका प्रमुखले गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख डिल्लीराज भुसालले खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर काम गरेको बताउनु भएको थियोे । लिफ्टिङ्ग खानेपानीको मासिक दस्तुर महङ्गो तिर्न पर्ने बाध्यता रहेको भन्दै नगरप्रमुख भुसालले त्यसको अन्त्यमा लागि आफुले समन्वय गरिरहेको समेत बताउनु भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघको तर्फबाट कार्यसमिति सदस्य पत्रकार मनोज कार्की, कार्यसमिति सदस्य पत्रकार डिबी खड्का र पत्रकार सन्तोष महताराले समन्वय गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता