रुरुक्षेत्रमा एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सम्पन्न



माधव ज्ञवाली भदौ २- गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा एकीकृत स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७८÷०७९ को गाउँपालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका भित्र संचालित विभिन्न स्वास्थ्य संस्था एवं आयुर्वेद औषधालयका प्रमुखहरुले गत आर्थिक वर्षको प्रगति विवरण संगै संस्थामा भएका समस्याहरुको बारे जानकारी गराएका हुन् ।

गाउँपालिका भित्र रुरु प्राथमिक स्वास्थ्य केन्द्र , रुरु स्वास्थ्य चौकी, ग्वादी स्वास्थ्य चौकी, थानापती स्वास्थ्य चौकी, बलेटक्सार स्वास्थ्य चौकी, बम्घा स्वास्थ्य चौकी र रिमुवा स्वास्थ्य चौकी संचालनमा रहेका छन् भने रिडी र बलेटक्सारमा दुई आयुर्वेद औषधालय पनि संचालनमा आइरहेका छन् ।

गत आर्थिक वर्षमा अन्य स्वास्थ्य संस्थाको तुलनामा आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्या तुलनात्मक रुपमा केही बढी देखिएको छ भने कतिपय स्वास्थ्य चौकीमा गाउँघर क्लिनिकमा भन्दा पनि तुलनात्मक रुपमा उपचार गर्न आउने बिरामीको संख्या कम देखिएको छ।

रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षीत गर्भपतन सेवा केन्द्र त छ तर पर्याप्त जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या देखिएको बताइएको छ। बिरामीको संख्या तुलनात्मक रुपमा अन्य स्वास्थ्य संस्थाको तुलनामा बढी हुने सो यस् स्वास्थ्य केन्द्रमा अत्यावश्यक औषधि मौज्दात शून्य नभएको र औषतमा प्रतिदिन ८२ जनाले यस् केन्द्रबाट सेवा लिइरहेको बताइएको छ।

रुरुक्षेत्र गाउँपालिका भित्र संचालित अधिकांश स्वास्थ्य संस्थाहरुमा संस्थाको आफ्नै टेलिफोन सेवा छैन भने कतिपयमा नागरिक वडापत्र नै नभएको बताइएको छ। कार्य सम्पादनको लागि पर्याप्त कोठाहरु छैनन् भने कतिपय स्वास्थ्य संस्थामा कुनै कर्मचारी फिल्डमा गएको बेला कार्यालय संचालनमा समेत कठिनाई देखिने गरेको पाइएको छ।

ग्वादी स्वास्थ्य चौकीमा बहुउपयोगी हल नहुँदा कार्यक्रम गर्न असहज भएको कार्यक्रममा जानकारी गराइएको छ भने खानेपानीको स्थायी स्रोतको ब्यवस्था नभएको पाइएको छ।

तालिमको व्यवस्थापन नभएको, औषधि राख्ने र्याक नभएको, भ्याक्सिन भण्डार गर्ने कोल्डवक्स व्यवस्था नभएको, घरमै सुत्केरी हुने समस्या रहेको, तौल अनुगमन दर कम भएको, गाउँघर क्लिनिक तथा खोप क्लिनिकको लागि आफ्नै भवन नभएको लगायतका समस्या स्वास्थ्य संस्थाबाट आएका छन् ।

रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप गाउँपालिका घोषणा भएको छ भने वडा न.६ रिमुवा पुर्ण सरसफाई उन्मुख वडा र बलेटक्सार स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको छ।

कार्यक्रमका सभाध्यक्ष एवं रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताउँदै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उदेश्य सहित एम्बुलेन्स खरिदको लागि बजेट विनियोजन गरिएको बताएका छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने विशेषज्ञ एवं स्वास्थ्य कर्मचारी नै बढी जिम्मेवार हुने भएकोले सेवा प्रवाहमा गम्भीर भएर लाग्न उनले आग्रह गरेका छन् ।

आफुहरुलाई जनताले चुनेर पठाएको र आफुहरु जनताको सेवक भएर काम गर्नुपर्ने बताउँदै स्वास्थ्य जस्तो गम्भीर विषयमा कुनै आग्रह पुर्वाग्रह नरहने र स्वास्थ्य सङ्ग सम्बन्धित हरेक समस्या एवं सुझाव सल्लाह सहज रुपले बताउन पनि उनले अनुरोध गरेका छन् ।

घरघरमा स्वास्थ्य सेवा कार्यक्रमको लागि बजेट विनियोजन गरिएको बताउँदै अध्यक्ष ज्ञवालीले ग्वादी स्वास्थ्य चौकीमा ल्याव संचालनको प्रदेशमा पहल गरिएको बताए। बलेटक्सार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै रुरुक्षेत्रबाट स्वास्थ्य सङ्ग सम्बन्धित सानो समस्या लिएर श्रृङ्गा स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्नेगरी योजना बनाउनुपर्ने र त्यसको लागि पहल गरिने उनले बताएका छन् ।

आफुले परिवर्तन मात्र चाहेकोले स्वास्थ्य क्षेत्रमा सकारात्मक परी लागि सबैजना एकै दिशातिर केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै आजसम्म देखिएका कमि कमजोरीलाई नदोहोर्याउने गरि काम गर्न उनले सबै स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् ।

आर्थिक क्रियाकलाप र कतिपय स्वास्थ्य कर्मचारीले सेवाग्राहीलाई गर्ने ब्यवहारलाई लिएर रुरु प्राथमिक स्वास्थ्य केन्द्रको बारे जनस्तरबाट गुनासो आफुमाझ आएकोले यदि त्यसमा कहिँ कतै कमि कमजोरी भएको भए पारदर्शी रुपमा काम गर्न उनले निर्देशन पनि दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकलाई हेर्दा केही स्वास्थ्य संस्था सेवाग्राहीलाई आकर्षित गर्ने विषयमा चुकेको बताउँदै त्यसलाई आगामी दिनमा सुधार्नुपर्ने धारणा व्यक्त गरेका छन् भने रुरुक्षेत्रमा स्वास्थ्यमा केही परिवर्तन आउने गरि काम गर्न अनुरोध समेत गरेका छन् । आयुर्वेद र स्वास्थ्यलाई संगै जोडेर अघि बढे अझै प्रभावकारी हुने उनले बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले स्वास्थ्य संस्थामा देखिएका धेरैजसो समस्याहरू स्वास्थ्य शाखाले समाधान गर्न सक्ने बताउँदै गाउँपालिकाले पनि समस्या समाधानमा गम्भीर भएर लाग्ने बताए। स्वास्थ्य संस्थामा बिरामीको संख्या कम हुने तर गुनासो बढी आउने समस्या देखिएको बताउँदै उनले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको विशेष आतिथ्यता रहेको थियो भने विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका कर्मचारी, गाउँपालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता