जनता आवास कार्यक्रममा अन्तरर्गत गुल्मीमा ४७ घर बन्दै !




टोपलाल अर्याल गुल्मी ।

जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत दुई निर्वाचन क्षेत्रमा ४७ घर निर्माण सुरु भएको छ । दुई निर्वाचन क्षेत्रका चार प्रदेश सांसदलाई घर भागवण्डा गरी घर निर्माण कार्य सुरु भएको हो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको रोहवरमा सहरी विकास तथा भवन कार्यालयले छनोट समिति बनाएको छ । क्षेत्र नं १ का दुई प्रदेश सांसद सुर्दशन बराल र कमलराज श्रेष्ट, क्षेत्र नं २ का प्रदेश सांसद खडक केसीलाई १२÷१२ वटा घर परेका छन् । क्षेत्र नं २ का अर्का सांसद दिनेश पन्थीलाई ११ वटा घर परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्लामा ४७ घर निर्माणको लागि प्रदेश सरकारबाट एक करोड ६४ लाख ५० हजार विनियोजन भएको छ ।

तस्वीर टोपलाल अर्याल

अघिल्लो वर्ष १४ घर मात्रै निर्माण
जनता आवास कार्यक्रमअन्तर्गत गत वर्ष गुल्मीमा १४ मात्रै घर निर्माण भएका छन् ।  प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सहरी विकास तथा भवन कार्यालय पाल्पामार्फत गत वर्ष गुल्मीमा जनता आवास कार्यक्रम लागू गरेको छ । जिल्लाका कुल लाभग्राही ४७ जनामध्ये १४ जना अर्थात् २९ दशमलव ७८ प्रतिशतले मात्र घर बनाएको कार्यालयले जनाएको छ । अहिलेसम्म ३१ जनाको घर निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन कार्यालय पाल्पाका निमित्तप्रमुख हरिभक्त श्रेष्ठ जानकारी दिए । उनले लाभग्राही ४७ जनामध्ये दुईजनाले सम्झौता गरेर काम नै नगरेको बताए । गरिब, दलित, पछाडि पारिएका वर्ग तथा लोपुन्मुख जातिको लागि प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाउन आर्थिक सहयोग उपलब्ध गराएको हो ।

चार किस्तामा रकम पाउने
यो कार्यक्रमअन्तर्गत घर बनाउने लाभग्राहीले चार किस्तामा रकम पाउँछन् । एकजना लाभग्राहीले तीन लाख ५० हजारका दरले रकम पाउने भएका छन् । जम्मा रकममा पाँच प्रतिशत ‘कन्टेन्जेन्सी’ खर्च कटाउँदा प्रति लाभग्राहीले तीन लाख ३३ हजार तीन सय ३३ खुद रकम प्राप्त गर्दछन् । पहिलो किस्ता सम्झौता गरी घरको जग पुरेपछि २५ प्रतिशत, त्यस्तै डिपिसी गरेपछि दोस्रो किस्तामा ३० प्रतिशत, लाभग्राहीले घरको गाह्रो लगाएपछि तेस्रो किस्ताबापतको ३५ प्रतिशत र पूरै घर निर्माण भएपछि अन्तिम किस्ताबापतको १० प्रतिशत रकम वितरण गर्ने सहरी तथा भवन कार्यालय पाल्पाका प्रमुख श्रेष्ठले बताए ।

कहाँ–कहाँ बन्दै छन् घर
जिल्लाका ४७ वटा घर चार प्रदेश सांसदलाई भाग लगाइएको छ । जसअन्तर्गत क्षेत्र नं दुईवटै निर्वाचन क्षेत्रको मुसीकोट र रेसुंगा नगरपालिकामा पाँच÷पाँच, सत्यवतीको लिम्घामा आठ, चन्द्रकोटको रूपाकोटमा चार, इस्मा गाउँपालिकामा चार घर परेका छन् । त्यस्तै, मालिका गाउँपालिकामा चार, मदाने गाउँपालिकामा दुई, धुर्कोट गाउँपालिकामा पाचँ, रेसुंगा नगरपालिकामा पाँच, छत्रकोट गाउँपालिकामा दुई, गुल्मी दरबारमा चार र रुरु गाउँपालिकामा चारवटा घर निर्माण गरिने सहरी विकास कार्यालय पाल्पाले जनाएको छ ।

घर पाउँदा खुसी
इस्मा गाउँपालिका–४ की सुन्तली विक वर्षांै खरे घरमा बसिन् । ठूलो वर्षा भए कहाँ सुत्ने पिरलो हुन्थ्यो । उनी विपन्न दलित एकल महिला भएकाले घर बनाउने उपाय थिएन । उनले गाउँमा हाक हाल्ने र मेलापातबाट जीवन कटाएकी छन् । गत वर्ष प्रदेश सरकारले घर बनाउने कार्यक्रम ल्याएपछि सुन्तली त्यसको छनोटमा परिन् । मिहिनेतले काम पनि गरिन् । काम सम्पन्न भएका अहिले चिटिक्कको घरमा बर्खा कटाइरहेकी छन् । ‘मेरो जीवनलाई ढुक्कको घर पाएँ खुसी छु,’ उनले भनिन्, ‘हात चल्ने वेलासम्म गरेर खान्छु ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता