पुस २४ गते हुने भयो रेसुंगा विमानस्थलमा ‘डेमो’ उडान



१० पुस ।

गुल्मीमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आगामी २४ पुस (जनवरी ) मा ‘डेमो’ उडान हुने भएको छ । यो विमानस्थलमा परीक्षण उडान यसअघि नै भइसकेको छ । अब नियमित उडान गर्ने प्रयोजनसहित २४ पुसमा डेमो उडानको तयारी थालिएको हो । यहाँ तारा एयरले डेमो तथा नियमित उडानको तयारी गरिरहेको छ । तारा यति एयरलाइन्सको भगिनी कम्पनी हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिले सो मितिमा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अगाडि बढेको छ । ‘पेपर वर्क सक्ने प्रक्रियामा छौं,’ उनले अनलाइनखबरसँग भने, ‘२४ पुसको मिति तोकिएको छ ।’

रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले समेत पुस अन्तिम साता डेमो उडान गर्ने गरी सहमति भएको जानकारी दिए ।

रेसुंगा नगरपालिकासँगको समझदारीमा नियमित उडानको तयारी

गुल्मीमा नियमित यात्रु पाउने सुनिश्चित नभएसम्म वायुसेवा कम्पनीले स्थानीय सरकारसँग समझदारी गरी जहाज उडाउने तयारी गरेको छ । यस्तो मोडलमा यसअघि बागलुङ र इलाममा उडान भएको छ । तर, ती विमानस्थलले भने पुनः सहज रुपमा यात्रु नपाउँदा अहिले नियमित उडान हुन सकेको छैन । गुल्मीमा भने यात्रु पाउने सम्भावना रहेको स्थानीय सरकार र वायुसेवा कम्पनीको प्रक्षेपण छ ।

काठमाडौंबाट गुल्मी पुग्न कठिन सडक यात्राका कारण सार्वजनिक यातायातमा अहिले झण्डै २४ घण्टा लाग्ने गरेको छ । यद्दपी महँगो इन्धनको मूल्यका कारण यात्रु आकर्षित गर्न चुनौतीपूर्ण देखिने प्रवक्ता बर्तौला बताउँछन् । सानो धावनमार्ग रहेका कारण यहाँ १८ सिट क्षमताको साना जहाज मात्र उड्न सक्छन् ।

गुल्मीबाट  ५० मिनेटमा पुगिनेछ काठमाडौं

तारा एयरका अनुसार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट डेमो तथा नियमित उडानको तयारी छ । काठमाडौंबाट ५० मिनेटको उडानमा गुल्मीको रेसुंगा विमानस्थलमा जहाज अवतरण हुनेछ ।

विमानस्थल गुल्मीको सदरकुमाम तमघासबाट ५ किलोमिटर दूरीमा रहेको छ । प्रारम्भमा नगरपालिकासँगको सहकार्यमा जहाज उडाउने तयारी गरिरहेको कम्पनीले नियमित यात्रु पाउने अवस्थामा भने उडानलाई निरन्तरता दिने बताएको छ । विमानस्थल रेसुंगा नगरपालिका वडा नं १० मा पर्छ ।

गुल्मी विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । उनी अघिल्लो प्रतिनिधिसभामा यसै क्षेत्रमा प्रतिनिधि समेत थिए । यहाँ ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग बनेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । यस्तो जहाजहरु नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग छन् ।

स्रोत अन्लाईन खबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता