धुर्कोट र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना



हुमाकान्त पोखरेल
गुल्मी, २५ चैत ।गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र भरतपुर महानरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन् ।

दुवै पालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, दुवै स्थानीय तहले कृषि र पशुपालनका क्षेत्रमा अपनाइएका नयाँ प्रविधि, ज्ञान, सीपको आदान–प्रदान गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रम संचालन गर्ने उदेश्यले भगिनी सम्बन्ध स्थापना गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

दुवै पालिकाले उद्यमशिलतामा बृद्धि गरी आय–आर्जनलाई प्रभावकारी बनाउने, शिक्षालाई समय सापेक्ष बनाउनका लागि दुुवै पालिकाले विद्यालयमा प्राविधिक शिक्षाको संचालन र प्रवद्र्धन गर्ने, विकासका सफल अभ्यासहरुको अवलम्वन गर्नका लागि प्राविधिक सहयोग आदान–प्रदान गर्ने, दमकल र एम्बुलेन्स सेवाको संचालन तथा बस्ती विकासका लागि भू–उपयोग योजना तर्जुमा गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि दुवै पालिकाले आवश्यक सहयोग आदान–प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै भरतपुर महानरपालिकाका प्रमुख दाहालले भगिनी सम्बन्ध आधिकारिकता मात्र नभई व्यवहारमा लागु हुनुपर्नेमा जोड दिइन् । आफुहरुको मुख्य ध्यान आर्थिक विकास गर्नु भएको भन्दै यसमा धुर्कोट गाउँपालिकासँग समन्वय गर्ने बताइन् । संघीयताको मर्म बुझेका दुवै पालिकाहरुबीच भगिनी सम्बन्ध स्थापना गर्दा संघीयता कार्यान्वयनमा पनि थप मद्धत पुग्ने दाहालको भनाई छ ।

त्यस्तै धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले आफुहरुले धुर्कोटको विकासको लागि विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरुसँग समन्वय गरी काम गरेको बताए । त्यसका साथै आफुहरुले भरतपुरबाट विकासका काममा सहयोगको अपेक्षा गरेको भन्दै भगिनी सम्बन्धलाई निरन्तरता दिने बताए ।

कार्यक्रमका विशेष अतिथि प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसीले कामको तिब्रता मिलेका दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नागरिकलाई फाइदा हुने बताए । कार्यसम्पादन मुल्याकंनको आधारमा भरतपुर महानगरपालिकामध्ये अग्र स्थानमा र धुर्कोट गाउँपालिकामध्ये अग्र स्थानमा रहेकोले कामको तिब्रताको आधारमा भगिनी सम्बन्ध स्थापना गरिएको बताए ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्याल, धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरी लगायतका जनप्रतिनिधिहरु, दुवै पालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । यसभन्दा अगाडी भरतपुर महानगरपालिकाले जापन र चीनको पालिका एवम् नेपालमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको छ । त्यसैगरी धुर्कोट गाउँपालिकाले बाग्लुङको ताराखोला र तनहुँको बन्दिपुर गाउँपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता