ए । गुल्मेली छोरी रामकुमारी टुरिस्ट पो ! अनि उहाँहरु को नि ?



कात्तिक ८ गुल्मी ।
चेली बेटीहरुलाई श्रद्धा ब्यक्त गर्ने पर्व तिहारमा एकाविहानै एक जना नेताले ठुलो अपमान गरेको समचार पढे पछि निकै दुख लाग्यो र केहि टिप्पणी नगरी बस्न सकिएन । कुनै समय पत्रकारहरुका नेता भई सकेका र हाल नेकपा एमाले गुल्मीका नेता रहेका उहाँले गुल्मी  –२ की प्रतिनिधी सभा उमेदवार रामकुमारी झाँक्रीलाई टुरिष्ट नेता÷ उमेदवार भन्नेको समाचारले यसरी दुखित पारेको हो ।

रामकुमारी झाँक्री प्रतिको त्यो अभिब्यक्तिले अझै पनि ति नेता र उहाँको पार्टीमा पितृसत्तात्मक मानसिकता कायमै छ भन्ने स्पष्ट हुन्छ । यसै गुल्मीमा जन्म घर भएका पुरुष जिल्ला बाहिरका शहरमा कआलिशान महल टठाएर , उतै विवाह गरेर बसेको सबैलाई थाहै छ । त्यस्ता पुरुषहरु चुनाव बाहेक दशैं तिहार मान्न समेत घर फर्केर आउँदैन । दशैंको टिका लगाउन बृद्ध बाबु आमालाई पटक पटक काठमाण्डौंको आफ्नो घरमा बोलाएको देखिएकै हो ।

उहि छोराहरु गुल्मीलाई जन्म घर बनाएर चुनाव लड्न हुने तर छोरी रामक्मारीहरु चुनाव लड्दा भने टुरिस्ट हुने ? के छोरीको जन्म घर हुँदैन ? बिबाह गर्यो कि उसको जन्म घर गुम्ने कुन कानुन , कुन धर्ममा लेखेको छ ?

यदि बिबाह गरे पछि छोरीको जन्म घर गुम्ने कतै लेखिएको छ भने अब छोराको पनि गुम्नु पर्छ भनेर लेखिनु पर्छ र रामकुमारी झाँक्रीले अन्य जुन जिल्लाको पुरुष संग विवाह गरिन त्यही जिल्लाबाट चुनाव उठनु पर्छ र पुरुषहरुले पनि जुन जिल्लाकी महिला संग विवाह गरी बस्दै अएका छन त्यही जिल्लाबाट च्ुनाव उठ्नु पर्छ ।

जिल्ला बाहिर बसेर चुनाव लड्ने प्ुरुषहरु टुरिस्ट नहुने रामकुमारी झाँक्री चाँही टुरिष्ट नेता हुने ? यस्तो सवाल आम गुल्मेली महिलाहरुले उठाउन जरुरी छ ।
अझ कतिपय नेताले एउटा जनजाती बस्तीमा पुगेर रामकुमारी झाँक्रीलाई लक्षित गरी ‘यी छोरी चेलीलाई दुईचार माना रक्सी र रोटी पाउर बोकाएर कर्मघर पठाउने हो भोट दिने होईन’ भनेको सुनियो । जुन कुरा सामाजिक सञ्जालमा छोरीहरु प्रति ठुलो अपमान भएको भन्दै तिब्र आलोचना भएको छ ।

के छोरी पाउर–पोको लिन मात्रै माईत आउनु पर्ने हो ? अरु अधिकार उनको छैन ? के उनको पैतृक सम्पत्तीमा समेत अधिकार छैन ? पक्कै छ । अझ रामकुमारी जस्ती राष्ट्रभर गुल्मेली साहसी छोरीको गौरवगाथाले हाम्रो शिर उचो पार्दै आएकी चेलीको पैतृक सम्पत्ती मात्र होईन , उनका लागि सिंङ्गो जिल्ला छ ।

अहिलेकी रामकुमारी झाँक्री त्यसै रामकुमारी झाँक्री बनेकी होईनन् भन्ने कुरा गुल्मेलीहरुलाई मात्र होईन सिंङ्गो देशवासीलाई थाह छ । ९ बर्षको स्कुले जिवन देखि निरन्तर राजनैतिक संघर्ष गर्दै २०६२÷०६३ को जनआन्दोलनले उचाईमा पुराएकी साहसी गुल्मेली छोरीको नाम हो रामकुमारी झाँक्री । निरुङकुस राजतन्त्र बिरुद्धको त्यस जनआन्दोलनमा रामकुमारीले सडकमा बगाएको रगत आम गुल्मेली छोरीहरुको रगत हो । बरु त्यसरी कतियप गुल्मेली छोराहरुले रगत बगाएको देखिएन , सुनिएन ।

रामकुमारी झाँक्रीलाई छोरी–चेली हुन पाउर दिएर पठाउने हो भोट दिने होईन भन्दा कार्यक्रममा सहभागि एमालेका महिलाहरुले ताली ठोक्नु त भए होला तर एक चोटी सोच्नुस त तपाई छोरीहरुलाई हेर्ने दृष्टिकोण कहाँ छ ? त्यो पनि आफुलाई ठुलैे नेता ठान्नेहरुबाटै ।

अब त्यस्ता मानसिकता बिरुद्ध महिलाहरु जागरुक हु्ने र प्रतिवादमा उत्रिने बेला आएको छ । त्यस्तै मानसिकताले गर्दा मैना भण्डारी , सुवर्ण ज्वारचन (कान्छी दिदी ) जस्ता संघर्षशिल महिलाहरुले प्रत्यक्ष निर्वाचनमा हार बोहोर्नु प¥यो र अन्तिममा आएर समानुपातिकमै चित्त बुझाउनु प¥यो ।

के समानुपातिक सिट महिलाहरुका लागि मात्रै हो ? पक्कै होईन । अब हरेक महिलाहरुले म प्रत्यक्षम मै उठ्छु र पुरुष प्रतिस्पर्धी उमेदवारलाई हराएरै छाड्छु र म जित्छु भन्ने हिम्मत राख्न जरुरी छ । जित हार मतपरिणमले मंसिर ४ पछि देखाउला तर जुन हिम्मत राखेर रामकुमारी झाँक्री आफ्नो जन्म घर गुल्मी २ बाट यति बेला चुनावी मैदानमा छन त्यो हिम्मत आम महिलाहरुमा हुनु पर्छ र विगत देखि हाल सम्मका निर्वाचनमा पनि तमाम महिलाले देखाई राखेका छन् ।

आखिर रोल्पा घर हुने महिलाहरु काठमाण्डौ लगायतका विभिन्न स्थानमा लडेका छैनन र रामकुमारी मात्रै टुरिस्ट हुनु पर्ने । बरु उतै काठमाण्डौ वा बुटवलमा घर हुनेहरु टुरिस्ट हुनु पर्ने । उनिहरुले नैतिकताका आधारमा जहाँ बस्यो त्यही बाट चुनाव लडनु पर्ने ।
खास त रामकुमारीलाई दलिय मानसिकताले नहेर्ने हो भने एमाले मै आश्था राख्ने महिला सहित आम गुल्मेली महिलाहरुका लागि गर्व र प्रतिष्ठाको बिषय बन्नु पर्ने हो । लैङ्गिक विभेद नगर्ने र महिलाहरु हरेक क्षेत्रमा सक्षम छन र उनिहरुलाई अगाडी बढाउनु पर्छ भन्ने सोंच भएका पुरुषहरुका लागि पनि रामकुमारी झाँक्री गर्व गर्ने पात्र हुन ।

गर्वले छाती फुल्छ उनको राजनीतिमा कठोर संघर्ष र चट्टानी अडान देख्दा । तत्कालिन आफ्नै पाटीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध लिएको चट्टानी अडान र सडकमा उनको त्यो गर्जन सुन्दा हजारौंले तालीले स्वागत गरेका थिए र अहिले पनि गर्ने गरेका छन । त्यो हो एउटा नेतृत्वमा हुन पर्ने अडान र नैतिकता भन्ने चिज । त्यसो त जनता स्वयम अहिले विवेकशिल छन कसमा कति नैतिकता छ भन्ने कुरा आफै छुट्टाउने नै छन ।

छोरीलाई त्यसरी हेपेर नबोलौं । अन्यथा सबैलाई थाहै छ रामकुमारी गर्जिन प¥यो भने कतिपयका राजनैतिक जगहरु हल्लीन÷भत्कीन पनि सक्लान । हामी देख्छौ टोल टोलमा आमा दिदी बहिनीहरुले एकातिर पुरुष उमेदवार र अर्कोतिर महिला उमेदवार रामकुमारीलाई अंगालो हालेर आर्शिवाद दिई रहेको ।

त्यो दृश्यले फेरी पनि तिमीले नै जित छोरा वा ‘धेरै पटक जिते छोराहरुले अब तिमीले पनि जित्नु पर्छ , जित छोरी’ भन्ने आर्शिवाद दिएको अनुभुत हुन्छ । खैर त्यो आशिर्वाद नै होस वा नहोस । होस भने पनि लागोस वा नलागोस त्यसमा हाम्रो भन्नु केहि छैन तर चुनाव जित्न कै लागि छोरीको जन्म घरको अधिकार नखोसौं र पाउर कै लागि विवाहित छोरीहरु माईती आउँछन भन्ने शब्दले अपमान नगरौं बस हाम्रो भन्नु यति नै हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता