स्थानिय सरकारको साथ खोज्दै प्राबिधिक शिक्षालय ।



साउन ३ गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद् सिटिइभिटिइको CTEVT को आङ्गिक शिक्षालय तुराङ बहुप्राबिधिक शिक्षालयले स्थानिय सरकार सँग समन्वय गर्दै बिभिन्न कार्यहरु गर्ने भएको छ । २०७८ सालमा ३ बर्षे डिप्लोमा तथा प्रमाणपत्र तहका कृषि तर्फ बाली बिज्ञान र पशु बिज्ञान तथा इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङ कार्यक्रम संचालनको स्वीकृती पाएको शिक्षालयले हाल कृषि तर्फका २ वटा कार्यक्रमहरु बाली बिज्ञान र पशु बिज्ञान संचालन गरिरहेको छ । शिक्षालयमा जुम्ला, हुम्ला, बाजुरा, सुर्खेत, बाँके, कपिलबस्तु, रुपन्देही, नवलपरासी, बाग्लुङ, गुल्मी लगायतका जिल्लाका ८३ जनाले प्राबिधिक शिक्षा अध्ययन गरिरहेका छन । शिक्षालयले हाल १४ रोपनी जग्गा भाडामा लिएर प्रशिक्षार्थीहरुलाई नियमित पठनपाठन सँगै प्रयोगात्मक अभ्यास गराउदै आएको छ भने मजुवा बजारमा रहेको मानका टिकाराम क्याम्पसको भवनमा ६ वटा कोठा ब्यबस्थापन समक्ष माग गरेर आबश्यक पर्ने अन्य ५ कोठा आँफैले निर्माण गरी ११ कोठामा पठनपाठन तथा बिभिन्न कृषि तथा बिज्ञान प्रयोगशाला संचालन गर्दै आएको छ ।
शिक्षालयले आगामी बर्ष गुल्मी तथा अन्य जिल्लाहरुमा कृषक सँगै प्राबिधिक भन्ने कार्यक्रम मार्फत सम्बन्धित स्थानिय सरकार सँग समन्वय गर्दै किसानहरुको घर–घरमा गएर किसानका समस्याहरु तथा अनुभबहरु सुन्दै समस्याको निराकरण गर्ने र प्रशिक्षार्थीहरुलाई छुट्टै ब्याबहारिक सिकाइमा जोड दिने भएको छ । यो कार्यक्रम बाट किसानहरु प्रत्यक्ष लाभान्वित हुने र प्रशिक्षार्थीहरुले पनि अध्ययन गर्दा सिकेका बिषयहरुलाई ब्याबहारिक ज्ञान लिने मौका प्राप्त गर्ने तथा सिकाइ प्रभाबकारी हुने अपेक्षा शिक्षालयको छ । यसै गरी माटो परीक्षण, गाईबस्तुको गोबर परीक्षण तथा अन्य रोगहरुको लागि शिविर संचालन गरी किसान सँग प्राबिधिक कार्यक्रम गर्ने योजना रहेको शिक्षालयले जनाएको छ ।
शिक्षालयले सिकाइलाई प्रभाबकारी र गुणस्तरीय बनाउन स्मार्ट बोर्ड, प्रोजेक्टर तथा कम्युटरको प्रयोग गरी पठनपाठन गराउने, अध्ययन र अनुसन्धानका कृयाकलाप गर्ने र अत्याधुनिक कम्प्युटर तथा बिज्ञान प्रयोगशाला समेत निर्माण गरिरहेको छ । तुराङ बहुप्राबिधिक शिक्षालयले आगामी बर्ष २०८१ /०८२ मा खासगरी शिक्षालयको आफ्नै भौतिक पूर्बाधार तयार गर्दै समुचित ब्यबस्थापनमा बिशेष जोड दिएको छ । जसका लागि वडा कार्यालयको रोहबरमा स्थानिय ब्यक्तिहरुले चन्द्रकोट ८ स्थित तुराङमा १६ रोपनी जग्गा शिक्षालयलाई निशुल्क रुपमा उपलब्ध गराएका छन भने चन्द्रकोट –७ रुपाकोट स्थित सोतामा २८ रोपनी जग्गा निशुल्क रजिस्ट्रेशन गरिदिएका छन । अहिले सम्म २६ जना जग्गा दाताबाट शिक्षालयलाई करीब डेढ करोड भन्दा बढी मुल्य रहेको ४५ रोपनी जग्गा प्राप्त भई सकेको र अझै २० रोपनी जग्गा प्राप्त हुने क्रममा रहेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिनुभयो ।
प्राप्त भएको जग्गामा शिक्षालयले प्रशासनिक भवन, शैक्षिक भवन, कर्मचारी आबास तथा अध्ययन गर्न आउने प्रशिक्षार्थीहरुको लागि होस्टल निर्माण गर्नेछ भने अन्य जग्गामा अध्ययनको लागि आबश्यक पर्ने गाईबस्तुको फारम, कृषि प्रयोगात्मक फिल्ड, खेलकुद मैदानको लागि प्रयोग गर्ने छ । तत्कालका लागि कार्य गर्न करीब ७० रोपनी आबश्यक रहेको र शिक्षालयलाई पूर्ण क्षमतामा लैजान माछा पोखरी, कुखुरा फार्म, बाख्रा फार्म, गाईबस्तुको गोठ, प्रयोगशाला गरी कुल ८० देखी १०० रोपनी न्युनतम जग्गा आबश्यक पर्ने शिक्षालय प्रमुखको भनाइ छ ।
शिक्षालयमा आबश्यक पर्ने सम्पूर्ण भौतिक पूर्बाधार तयार हुने हो भने शिक्षालयलाई एउटा दक्ष प्राबिधिक कर्मचारीको केन्द्रको रुपमा र जिल्लाको सबै भन्दा आकर्षक कृषि पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुने सम्भावना पनि छ । गुल्मी र पाल्पाको सँगम स्थल तथा धार्मिक क्षेत्र समेत रहेको रिडी बजार देखि २७ किलोमिटर पश्चिम क्षेत्रमा रहेको मजुवा बजारमा शिक्षालय अबस्थित रहेको छ भने सो बाटो हुँदै पर्यटकिय गन्तब्यको रुपमा रहेको ढोरपाटन सिकार आरक्षमा पुग्ने तथा बाग्लुङ जिल्लाको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण बजार क्षेत्र बुर्तिबाङ तथा गलकोट लगायतका स्थानबाट पनि सोही रुट हुँदै बुटवल जाने गरिन्छ ।
यसका साथै शिक्षालयले गुल्मी जिल्लाका बिभिन्न ७ वटा पालिका सँग समन्वय गर्दै बिधार्थीहरुलाई निशुल्क प्राबिधिक बिषय अध्ययन गर्ने ब्यबस्था समेत गरेको छ । जस अन्तर्गत चन्द्रकोट र सत्यवती गाउँपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि दिदै आएको ८–८ जनाको छात्रबृत्ति कोटालाई निरन्तरता दिने बताएका छन भने यसै शैक्षिक सत्रदेखि कालीगण्डकी गाउँपालिकाले ६ जना, धुर्कोट गाउँपालिकाले ६ जना, गुल्मीदरबार गाउँपालिकाले ४ जना, रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिकाबाट अध्ययन गर्न इच्छुक सबैजनालाई पूर्ण छात्रबृत्ति दिने तथा मुसिकोट नगरपालिकाले आफ्नो नगरपालिकाबाट अध्ययन गर्न जाने सबै बिधार्थीलाई अध्ययन गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ । भने CTEVT ले कृषि बालीबिज्ञान कार्यक्रम अध्ययन गर्ने ४ जना र पशु बिज्ञान कार्यक्रम अध्ययन गर्ने ४ जना गरी उत्कृष्ट ८ जनालाई ३ बर्षसम्म निशुल्क अध्ययन गर्ने ब्यबस्था रहेको शिक्षालयले जनाएको छ । शिक्षालय नेपाल सरकारको पूर्ण सरकारी भएको कारण पनि अन्य शिक्षालयमा भन्दा अत्यन्तै सस्तो पचास हजार मै अध्ययन गराउने ब्यबस्था रहेको छ । शिक्षालयले हाल कृषि तर्फ बाली बिज्ञान र पशु बिज्ञानमा भर्नाको लागि ८० कोटामा आबेदन समेत माग गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता