धुर्कोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

हुमाकान्त पोखरेल, गुल्मी-२१ असार ।
धुर्कोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिकाको आयोजना एवम् प्रदेश प्रशिक्षण प्रतिष्ठान र डेक नेपालको सहजिकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष पदम बिष्ट, वडा नम्बर ५ का अध्यक्ष केशव भण्डारी, वडा नम्बर ७ वाग्लाका अध्यक्ष लिला खनाल कार्यपालिका सदस्य, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको वाड नम्बर ५ वस्तुमा सोमबार सम्पन्न कार्यक्रममा नागरिकहरुले विद्यालयमा बस, सडक, खानेपानी, शिक्षा, योजनाको समावेशिकरण, दलित लक्षित कार्यक्रम लगायतका बिषयमा जिज्ञासा राखेका थिए । स्थानीय युवाराज भण्डारीले खानेपानीको प्राथमिकताको बिषयमा जिज्ञासा राखेका थिए । त्यस्तै राम प्रसाद भण्डारीले कृषिमा अनुदान नपाएको, मोटरबाटोको समस्या भएको लगायतका बिषय उठाएका थिए । हिमालय माध्यमिक विद्यालयकी विद्यार्थी श्रद्धा भण्डारीले गरिब तथा विपन्न बालबालिकाहरुको अध्ययनका लागि गाउँपालिकाको नीति तथा योजनाबारे जिज्ञासा राखेकी थिइन् ।
सोही विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारीले योजना सम्पन्न गरिसकेपछि रकम फस्र्यौटको लागि उपभोक्ता समितिलाई तालिम दिएमा सहज हुने धारणा राखेका थिए ।
सहभागिका प्रश्न एवम् जिज्ञासाको जवाफ दिदैँ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले विपन्न बालबालिकाहरुको लागि निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरेको बताए । दलित एवम् विपन्न्न बालबालिकाको लागि एस.इ.इ. पछिको तीन बर्षे प्राविधिक शिक्षामा छात्रबृत्ति, दिने, आवश्यक विद्यार्थी सङ्ख्या भएमा हिमालय माविमा बस संचालन गर्ने बताएका थिए । उपाध्यक्ष सीता गिरीले गाउँपालिकासँग सिमित स्रोत भएकोले सबै ठाउँमा एकैपटक योजना राख्न नसकिएको बताइन् ।
‘सबैजसो ठाउँबाट योजना सिफारिस भएको थियो, तर सिमित बजेट थियो ।’ उनले भनिन्, ‘गाउँ वा टोल नबिरिने गरी योजना समावेश गरेका छौँ ।’ त्यस्तै उनले महिला लक्षित कार्यक्रमको बारेमा पनि जानकारी गराएकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले बिल–भरपाईको बिषयमा कानुनअनुसार काम हुने भन्दै आवश्यक कागजपत्र पु¥याएर मात्र भुक्तानीको लागि पालिकामा आउन आग्रह गरेका थिए ।
दलित लक्षित कार्यक्रम, खानेपानी लगायतका बिषयमा बारेमा वस्तुका निवर्तमान वडाध्यक्ष ढुन्डिराज भण्डारी र वडाध्यक्ष केशव भण्डारीले जवाफ दिएका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष पोखरेलको अध्यक्षता, डेक नेपालका प्रतिनिधि गणेश पाण्डेको स्वागत मन्तव्य एवम् नागरिक समाज, गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।