चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी पनि मालिका माविकै हातमा !
माघ ६ गुल्मी ।
मालिका गाउँपालिकाको आयोजना र देवीस्थान मावी घमिरको सह-आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी मालिका मावी सिमलटारीले हात पारेको छ ।
साविकको विजेता मालिका माविले १९ स्वर्ण ,आठ रजत र सात कास्य गरि ३४ पदक जित्दै पुनः शिल्ड हात पारेको खेल प्रशिक्षक रित बहादुर बुढाले जानकारी दिए ।
प्रशिक्षक र खेलाडीको मेहनतले उपाधी जित्न सफल भएको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले बताए । त्यस्तै छोटो समयको तयारीमा पनि आफ्ना विद्यार्थी खेलाडीले राम्रो प्रदर्सन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद अर्यालले उल्लेख गरे । मालिका माविले शिल्ड सहित नगद २० हजार समेत हात पारेको छ ।
त्यस्तै सह आयोजना देवीस्थान मावी घमिर द्वितीय भएको छ । उसले दस स्वर्ण ,११ रजत र आठ कास्य गरि २९ पदक सहित नगद १५ हजार हात पारेको विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकीलेले जानकारी दिए । तृतीय भएको च्यानडाडा माविले पाँच स्वर्ण ,पाँच रजत र पाँच कास्य गरि १५ पदक सहित १० हजार नगद हासिल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र विकले जानकारी दिए ।
तीन दिन सम्म चलेको प्रतियोगितामा मालिका गाउँपालिकाका तीन आधारभुत तहका विद्यालय सहित १४ विद्यालयले सहभागीता जनाएको पालिकाका शिक्षा शाखका प्राविधिक सहायक सुरज जिसीले बताए ।
स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
पदक विजेता उपविजेता सबै खेलाडीलाई बधाई ज्ञापन गर्दै जिल्ला स्तरीय खेलमा राम्रो प्रदर्शन गर्न गाउँपालिका अध्यक्ष देवीराम अर्यालले शुभकामना दिए । त्यस्तै उपाध्यक्ष उपेन्द्र अर्यालले राष्ट्रपति रनिङ शिल्डले राम्रा विद्यार्थी खेलाडी उत्पादन गर्दै आएको बताए । मालिकाका खेलाडी पालिकामा मात्रै नभई जिल्ला र प्रदेशमा समेत राम्रो खेल कौशलता देखाउदै आएको उनले उल्लेख गरे ।
कुन विद्यालयले कति पदक जिते ?
चौथो राष्ट्रपति रनिङ शिल्डमा नेटा दर्लिङ मावी दर्निङले दुई स्वर्ण ,१ रजत र एक कास्य हात पार्दा, ह्ववाङ्दी मेहाले माविले दुई स्वर्ण ,सात रजत र चार कास्य गरि १३ पदक हात पारेको छ । त्यस्तै सोही वडाकै देवीस्थान माविले एक स्वर्ण ,एक रजत र तीन कास्य सहित पाँच पदक हात पारेको छ ।
वडा नम्बर चारको अखर्बाङ मावी एक कास्य पदकमा सिमित रहदा वडा नम्बर पाँचको छापहिले माविले १९ पदक हात पारेको छ । जहाँ चार स्वर्ण ,नौ रजत र ६ कास्य पदक समेटिएका छन ।
सोही वडाकै जमलपोखरा माविले भने दुई स्वर्ण ,तीन रजत र एक कास्य गरि कुल छ पदक हासिल गरेको छ ।
६ नम्बर वडाको अर्जै माविले चार पदक हात पारेको छ । जहाँ ती स्वर्ण र एक रजत पदक रहेको छ ।
समापन समारोहमा मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल क्षेत्री,वडा नम्बर ६ का वडा अध्यक्ष दिपक भण्डारी ,जनप्रतिनिधि ,पुर्व जनप्रतिनिधि ,स्थानीय समाजसेवी बुद्धिजिवी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
चौथो राष्ट्रपति रनिङ शिल्डको माघ २ गते राष्ट्रिय सभाका सदस्य विष्णु कुमारी सापकोटाले एक समारोहका बीच उद्वघाटन गरेकी थिईन ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।