चन्दा उठाएर बुबाको किरिया गर्न लागेका मनिषलाई पुर्व मन्त्री बिष्टको १० हजार सहयोग



फागुन २५
चन्दा उठाएर बाबुको किरिया गर्दै गरेको समाचार प्रकाशित भएपछि गुल्मीका सांसद तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले व्यक्तिगतरुपमा १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
गुल्मीको मदाने गाउँपालिका ७ भनभने नेटाखर्कका ११ वर्षीय बालक मनिष खड्काले आफ्नो बुबाको किरिया गर्न चन्दा उठाउन थालेको समाचार आएपछि सांसद बिष्टले आफूले व्यक्तिगतरुपमा तत्कालै सहयोग गर्ने र संस्थागत सहयोगको लागि पनि पहल गर्ने बताएका हुन् । आइतबार कुराकानी गर्दै सांसद बिष्टले आफूले तत्कालै व्यक्तिगतरुपमा १० हजार रुपैयाँ खड्काको परिवारलाई पठाउने र थप सहयोगका लागि अन्य संघ संस्थासँग पहल गर्ने बताए । उनले भने, ‘मैले मेरै निर्वाचनक्षेत्रमा बुबाको किरिया गर्नका लागि ११ वर्षीय बालकले चन्दा उठाएको समाचार पढें । समाचारले मलाई ज्यादै दुखि त बनाएको छ । व्यक्तिगतरुपमा मैले तत्कालै १० हजार रुपैयाँ सहयोग गर्नेछु र त्यो रकम तत्कालै उनीहरुको हातमा पुर्याउने कोशिश गर्दैछु । तर उनीहरुको परिवारका लागि यो रकमले तत्कालको समस्यालाई केही राहत मात्रै दिनेछ । भविष्यका समस्यासँग जुध्नका लागि उनीहरुलाई थप सहयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि म विभिन्न संघ र संस्थासँग पनि पहल गर्नेछु ।’

लामो समयदेखि दुबै मिर्गौला फेल भई बिरामी रहेका मदाने ७, गुल्मीका रामबहादुर खड्काको फागुन १५ गते मृत्यु भएको थियो । रामबहादुरको मृत्युपछि उनका ११ वर्षीय छोरा मनिष खड्का किरियामा बसेका छन् । तर १३ दिने काजकिरियाका लागि आवश्यक कार्य गर्नका लागि पनि खर्चको अभाव भएपछि स्थानीयले चन्दा उठाउन थालेका थिए ।

 ‘चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ वर्षीय बालक’ शीर्षकमा समाचार प्रकाशन भएपछि सोही क्षेत्रका सांसदसमेत रहेका बिष्टले सहयोगको घोषणा गर्दै थप सहयोगका लागि पहल गर्ने बताएका हुन् ।

सांसद बिष्टले भने, ‘मैले तत्कालका लागि १० हजार रुपैयाँ पठाउँदै छु । त्यो मेरो व्यक्तिगत सहयोग हो । र, अब उनीहरुलाई थप सहयोगका लागि मैले विभिन्न संघ र संस्थासग पनि पहल गर्नेछु । मुख्यतः उनीहरुको अध्ययन तथा दैनिकी चलाउने सन्दर्भमा मैले कसरी सहयोग गर्ने भनेर छलफल सुरु गरिसकेको छु ।’

रामबहादुर दम्पतिले छोराको आशमा १० सन्तान जन्माएका थिए । १० सन्तानमध्ये मनिषमात्रै छोरा हुन् । उनीहरुको आयको स्रोत दैनिक ज्याला मजदुरी मात्रै रहेको थियो । रातो पाटी बाट लिएको ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता