गुल्मीका ३१ जना शिक्षकले तलब पाएन् !
फागुन १२ गुल्मी ।
कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्। गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्।
गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ३१ जना शिक्षकहरूलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए।
कार्तिक देखी पुससम्मको त्रैमासिक तलब खुवाउन ३९ लाख बजेट अभाव भएका कारण शिक्षकहरूको तलब खुवाउन नसकिएको पराजुलीको भनाई छ। ३१ जना शिक्षकहरू मध्ये बालशिक्षा देखि माध्यमिक तहसम्मका शिक्षकहरू रहेको पराजुलीले बताए । पालिकाले भर्ति गरेका शिक्षकहरुका लागि वार्षिक २ करोड खर्च हुने शिक्षा शाखाले जनाएको छ ।
आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत परियोजानको रोयल्टीमार्फत तलब खुवाउने गरी बजेट विनियोजन गरेको र रोयल्टी नआएका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाले जनाएको छ।
कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।
रोयल्टी नआए सं-सम्मान बिदा गर्ने योजनामा छौँ : गापा अध्यक्ष
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले रोयल्टी नआए शिक्षकहरूलाई स सम्मान बिदा गर्नेबाहेक आफूहरूसँग केही विकल्प नरहेको बताए।
रोयल्टी बापतको रकमबाहेक आफूहरूसँग बजेट नभएकाले जहिले रोयल्टी आउँछ त्यही बेला तलब पाउने र रोयल्टी नआए उहाँहरूलाई भुक्तानी गर्नुपर्ने रकमको अभिलेख राखी स९सम्मान बिदा गर्ने उनको भनाइ छ।
गाउँपालिका भित्र सामुदायिक ४४ र १ संस्थागत गरी ४५ वटा बिद्यालयहरु रहेका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।