महिनावारी अभियन्ता गुल्मीकी खड्कालाई ‘भेन्डिङ’ मेशिन प्रदान



साउन २२,गुल्मी
लामो समयदेखि सुरक्षित महिनावारी अभियानको क्षेत्रमा क्रियाशिल गुल्मीकी गंगा खड्कालाई नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालयले अटोमेटिक सेनेटरी प्याड ९भेन्डिङ० मेशिन प्रदान गरेको छ । दुर्गममा बसेर विद्यालयका किशोरी छात्राहरुलाइ लक्षित गरी अभियान संचालन गरेको भन्दै उनलाइ उक्त मेशिन उपहार स्वरुप प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

खड्कालाई हौसला स्वरुप मेशिन दिइएको मन्त्री विना मगरका स्वकीय सचिव विजयदेव भट्टराइले जानकारी गराए । ‘महिनावारीको क्षेत्रमा अभियान चलाउने देशभर धेरै व्यक्ति संघ संस्था छन्’, उनले भने, ‘तर उहाँ दुर्गममा बसेर सामाजिक जागरण फैलाउनु भएको छ । शहरमा भन्दा गाउँमा बसेर अभियान चलाउनेलाइ मन्त्रालयले प्रोत्साहन गर्ने गर्दछ ।’ नेपाली बजारमा उक्त मेशिनलाइ झण्डै ५० हजार रुपैयाँ पर्ने व्यवसायीहरु बताउँछन् ।

मन्त्रालयले उपलव्ध गराएको उक्त मेशिनलाइ गुल्मीकै एक विद्यालयलाइ हस्तान्तरण गरिने अभियन्ता खड्काले बताएकी छन् । ‘मन्त्रालयले उपहार स्वरुप मलाइ मेशिन दिइएको छ’, खड्काले भनिन्, ‘घरमै राख्नुभन्दा सार्वजनिक स्थानमा राखेर त्यसको महत्व अझ बढ्न सकिन्छ ।’ उनले छिट्टै एक कार्यक्रमको आयोजना गरी विद्यालय छनौट गरेर मेशिन प्रदान गरिने बताइन् । मन्त्रालयले गरेको प्रोत्साहनले आफूलाइ अझ क्रियाशिल भएर लागिरहन हौसला मिलेको उनले प्रतिक्रिया दिइन ।

विगत आठ वर्षदेखि गुल्मीमा रहेर खड्काले सुरक्षित महिनावारी राष्ट्रिय अभियान संचालन गरिरहेकी छन् । विद्यालयलाइ बढी प्राथमिकता दिएर चलाएको अभियानले किशोरी छात्राहरुको स्वास्थ्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको खड्काले प्रतिक्रिया दिइन् । सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको मूल्यांकन गर्दै गतवर्ष यूवा तथा खेलकुद मन्त्रालयले समेत उनलाइ राष्ट्रिय यूवा प्रतिभा सम्मानद्धारा नगद एक लाख सहित सम्मान गरेको थियो ।

स्कुल स्कुलमा पुगेर छात्राहरुलाइ सुरक्षित महिनावारी, यस समयमा बेला गरिने सरसफाइ, सञ्जाल गठन, इन्सिनेटर सहितको छात्रा शौचालयको व्यवस्था सहित छात्राहरुलाइ अभिमुखीकरण गराउदै आएकी छन् । हालसम्म गुल्मीका झण्डै १ सय २० वटा विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको उनले बताइन । गुल्मीकै इस्मा, छत्रकोट, गुल्मीदरवार, मदाने र मालिका गाउँपालिका महिनावारीका सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा भइसकेका छन् । अन्य गाउँ तथा नगरपालिकामा कार्यक्रम जारी छन् । कार्यक्रम सकिएपछि उक्त स्थानीय तहलाइ घोषणा गर्ने कार्यक्रम रहेको समेत खड्काले बताइन । खड्काकै पहलमा पाँच वर्ष अघि जिल्ला प्रहरी कार्यालय गुल्मी नेपालकै पहिलो सुरक्षित सामग्रीयूक्त कार्यालय घोषणा भएको थियो । अभियान हाल गुल्मी सहित वैतडी, सुर्खेत र पाल्पामा संचालन भइरहेको छ ।

कांचुली खवर बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता