सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन ,किसानलाई राहत,बिचौलियालाई छटपट

डिबी खड्का गुल्मी , बैशाख २९ ।
गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सत्यवती गाउँपालिका र संघिय सरकारको साझेदारीमा ३४ लाखको लागतमा कृषि एम्बुलेन्स खरिद सञ्चालन गरिएको हो । जहाँ संघिय सरकारको १९ लाख र पालिकाको १५ लाख लगानी रहेको छ । पालिका भित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादन जिल्ला बाहिर सहज ढङ्गले निर्यात गर्ने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए । एम्बुलेन्स संचालनको लागि पालिका स्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र सबै वडामा उपसमिति गठन गरिएको छ । त्यस्तै वडाको टोल टोलमा संकलन केन्द्र राखिएको छ ।
१५ क्विन्टल क्षमता रहेको एम्बुलेन्समा माइनस २५ डिग्री र प्लस २५ डिग्री सेल्सियस सम्म तापक्रम कायम गर्न मिल्ने र ५ दिन सम्म टिकाई राख्न सकिने कृषि शाखाका प्रमुख प्राविधिक उपकार भण्डारीले जानकारी दिए । साथै तरकारी सङै मासु र दूध पनि
कृषि एम्बुलेन्सले ढुवानी गर्न सक्ने भण्डारीले उल्लेख गरे ।
किसान आफैले सञ्चालन र व्यवस्थापन गर्ने हुँदा किसानलाई तत्काल हुने नाफा, उत्पादनमा आधारित पाउने अनुदान र शेयरको प्रतिफल समेत लाभ हुनेछ । उपभोक्ता र किसान संगको सिदा सम्पर्कले दुबैलाई फाइदा पुराउने सत्यवती गाउँपालिका १ अश्लेवाका किसान ओम कुवरले बताए । उनले भने“ कृषि एम्बुलेन्स सञ्चालन बाट हामी सारै खुसी छौ थप उत्साहित भएर हामी कृषि र पशुपालनमा लाग्ने छौ ´´ ।
सबै वडामा संकलित कृषि उपज बुटवल लैजाने व्यवस्था मिलाईएको छ भने ठाउँ अनुसार प्रतिकेजी तीन देखि ६ रुपैयाँ सम्म भाडा लाग्ने छ । कृषि एम्बुलेन्स सञ्चालनले किसानलाई प्रोत्साहन हुने र उत्पादनना थप वृद्धि हुने पालिका उपाध्यक्ष नुरुमाया तरामुको भनाई छ ।
सत्यवती गाउँपालिकामा ९०० किसान ६० वटा समूह बनाएर र अन्य एकल रूपमा गरि करिब १००० किसानले सकृय रुपमा कृषि तथा पशुपालन गरिरहेका छन् । हरेक वर्ष पालिकाले नयाँ र नौला कार्यक्रम लिएर अघि बढेको हुँदा उत्पादनमा वृद्धि भएको पशुपँक्षी शाखाका प्रमुख नारायण खनालले बताए ।
तरकारी ,फलफुल ,माछा ,मासु, दूध र अण्डा बाट वार्षिक करिब १० करोड आम्दानी किसानले गर्दै आएको गाउँपालिकाको तथ्यांक रहेको छ । सत्यवती गाउँपालिकाले गत वर्ष देखिनै बुटवलको हाटबजारमा २८ नम्बर सटर भाडामा लिएर पालिकामा उत्पादित कृषि तथा पशुजन्य उत्पादन बिक्रीवितरण गर्दै आएको छ ।
किसानलाई राहत,बिचौलियालाई छटपट : कृषि एम्बुलेन्स सञ्चालनले किसानले राहत दिदा बिचौलियाको भने निद हराम गरिदिएको छ । वर्षौं देखि किसान संग सस्तोमा खरिद गरि महँगोमा बेच्ने बानी परेकाहरुको पसलनै बन्द भएको छ ।
अब किसानले सिदै उपभोक्तालाई आफ्नो कृषि उपज बेच्ने छन भने पुलको काम गाउँपालिकाले गरिदिने छ । साथै किसानले
तत्काल हुने नाफा, उत्पादनमा आधारित पाउने अनुदान र शेयर लाभ समेत प्राप्त गर्नेछन ।
पालिकाले लिएको यस कार्यक्रमलाई फेल गराउन केही बिचौलिया लागे पनि सफल नहुने एक जनप्रतिनिधिले बताए । नाम नखुलाउने सर्तमा उनले भने “वर्षौं देखिको लुटतन्त्र हामीले बन्द गर्दै छौ , अहिले किसानलाई झुक्काउन धेरै मूल्य दिए जस्तो गर्ने र आफ्नो समान बजारमा सस्तोमा बेच्न लगाउने चलखेल समेत सुरु भएको छ तर त्यो सफल हुदैन ´´ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।