५० भन्दा कम मतान्तर भएका गुल्मीका १९ वडा



हुमाकान्त पाेखरेल गुल्मी, ०९ वैशाख ।
स्थानीय तहको मिति नजिकिएसँगै चुनावी सारगर्वी बढेको छ । गाउँगाउँ वा बजारका चिया पसमा निर्वाचनमा सहभागि दल र उम्मेदवारहरुका बारेमा चर्चा हुन थालेको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका एवम् ९३ वडा छन् । जसमध्ये ०७४ काे स्थानीय तहकाे निर्वाचनमा २० वटा वडाको मतान्तर ५० भन्दा कम रहेको छ । जसमध्ये पनि एउटा वडामा मत बराबर भएपछि गोलाप्रथाद्धारा उम्मेदवारलाई विजयी घोषणा गरिएको थियो ।
०७४ को निर्वाचनमा एमालेले १२ र काँग्रेसले सात वटा वडामा ५० भन्दा कम मतान्तरले जित हाँसिल गरेका थिए । एमाले सात वटामा, काँग्रेस ११ र माओवादी केन्द्र एउटा वडामा निकटतम बनेको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका –५ रजस्थलमा आठ मतान्तरले नेकपा एमालेका उम्मेदवारले जित हाँसिल गरेका थिए । एमालेका कलानिधी भण्डारीले ८६९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका झविन्द्र अर्यालले ८६१ मत ल्याएका थिए । कालिगण्डकी गाउँपालिका –२ मा नेकपा एमालेका उम्मेदवार ३८ मतान्तरले विजयी भएका थिए । देवी प्रसाद न्यौपाने ७०८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका रामप्रसाद न्यौपानेले ६७० मत ल्याएका थिए ।
कालिगण्डकीकै वडा नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार थम्मन सिंह आले ३४ मतान्तरले विजयी भएका थिए । आलेले ५८० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी एमालेका क्षेत्र बहादुर थापाले ५४६ मत ल्याएका थिए । गुल्मीदरबार गाउँपालिका –५ मा काँग्रेसका लिला बहादुर मगरले ४६ मत अन्तरले जितेका थिए । मगरले ५४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका नारायण गिरीले पाँच सय मत प्राप्त गरे । चन्द्रकोट गाउँपालिका –५ मा एमालेका उम्मेदवार १२ मतान्तरले विजयी भएका थिए । एमालेका टेक बहादुर पुन मगर २९९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका लिल बहादुर राना मगरले २८२ मत प्राप्त गरेका थिए । मदाने गाउँपालिका –६ पुर्कोट दहमा एमालेका उम्मेदवार तोक बहादुर कुँवर ६ मत अन्तरले वडाध्यक्षमा विजयी भएका थिए । कुँवरले ७४० मत प्राप्त गर्दा काँग्रेसका मनिराम थापाले ७३४ मत प्राप्त गरेका थिए ।
मालिका गाउँपालिका –३ ह्वाङ्दिमा एमाले उम्मेदवारले २२ मतान्तरले जित हाँसिल गरेका थिए। एमालेबाट अध्यक्षका उम्मेदवार राज कुमार विश्वकर्माले २८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका ज्ञान बहादुर बुढा मगरले २६३ मत प्राप्त गरेका थिए । मालिकाकै वडा नम्बर ४ अर्खबाङ्गमा नौ मतान्तरले एमाले उम्मेदवारले जितेका थिए । एमालेका हिरालाल अर्यालले ३५३ मत प्राप्त गरे भने काँग्रेसका उपेन्द्र अर्यालले ३४४ मत प्राप्त गरेका थिए । मालिका –८ मर्भुङ्गमा एमाले उम्मेदवार टिका बहादुर जिसीले १९ मतान्तरले जितेका छन् । जिसीले ८१७ मत प्राप्त गर्दा काँग्रेसका सुर्य बहदुर जिसीले ७९८ मत प्राप्त गरे । जिसी माओवादी केन्द्रका उम्मेदवार भएपनि निर्वाचनमा तालमेलको कारणले रुख चिन्हबाट निर्वाचनमा उम्मेदवार भएका थिए ।
मसिकोट नगरपालिका –१ मा नेपाली काँग्रेसका उम्मेदवारले सात मत अन्तरले जितेका थिए । काँग्रेसका पूर्ण बहादुर हितानले ८६० मत प्राप्त गर्दा एमालेका हिरा गिरीले ८५३ मत प्राप्त गरे । मुसिकोटकै वडा नम्बर ३ बडागाउँमा एमाले उम्मेदवार कर्ण बहादुर जिसी दुई मत अन्तरले विजयी भएका थिए । जिसीले ६२१ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी एमालेका झविलाल भण्डारीले ६१९ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नम्बर ९ मा २० मतान्तरले एमाले उम्मेदवार विजयी भएका थिए । एमालेका नरेशराज खरेलले ३९४ मत प्राप्त गर्दा काँग्रेसका गिरीराज खरेलले ३७४ मत प्राप्त गरे ।
रुरुक्षेत्र गाउँपालिका –६ रिमुवामा एमाले उम्मेदवार नौ मतान्तरले विजयी भएका थिए । एमालेका पूर्ण बहादुर रेगामी ६३८ मत ल्याएर विजयी हुँदा काँग्रेसका वेद बहादुर दर्लामीले ६२९ मत प्राप्त गरेका थिए । रेसुङ्गा नगरपालिका –१ मा काँग्रेसका अखिलेश्वर प्रसाद पाण्डे २१ मतान्तरले विजयी भए । पाण्डेले ३५३ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी एमालेका राम प्रसाद पन्थीले ३३२ मत प्राप्त गरेका थिए । नगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसका उदय बहादुर थापा ५० मतान्तरले निर्वाचित भएका थिए । थापाले ३६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उत्तम बहादुर कुँवरले ३१६ मत प्राप्त गरेका थिए । वडा नम्बर ३ भाडगाउँमा काँग्रेसका उम्मेदवार १६ मतान्तरले विजयी भएका छन् । काँग्रेसका थम्मन बहादुर केसी ४५३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी एमालेका बल बहादुर कुँवरले ४२७ मत प्राप्त गरेका थिए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ४ मा भने काँग्रेस र एमालेका उम्मेदवारको मत बराबर आएपछि गोलाप्रथा गरिएको थियो । काँग्रेसका लिलाधर आचार्य र एमालेका विजय कुमार मरासिनीको समान ४९३ मत आएपछि गोलाप्रथाबाट मरासिनी निर्वाचित भएका थिए । रेसुङ्गाकै वडा नम्बर ८ मा काँग्रेसका भरत भलामी ३२ मतान्तरले विजयी भएका थिए । भलामीले ४२७ मत ल्याए भने एमालेका पिताम्बर काउछाले ३९० मत प्राप्त गरेका थिए । सत्यवती गाउँपालिकाको वडा नम्बर १ मा एमाले उम्मेदवार भिमलाल पाण्डे ४१ मत अन्तरले विजयी भएका थिए । पाण्डेले ७२० मत प्राप्त गर्दा काँग्रेसका गोपाल प्रसाद पाण्डेयले ६७९ मत ल्याएका थिए । अहिले मालिकामा एमाले बिरूद्व पाँच दलीय गठबन्धन भएको छ भने अन्य पालिकामा गठबन्धन निष्कर्षमा पुगेको छैन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता