मुसिकोट नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण थाल्यो



सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगर भित्र रहेका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम सुरु गरेको छ । नगरपालिकाका ४ वटा वडाबाट निस्सा वितरणको काम सुरु भएको हो ।

पहिलो चरणमा वडा नं १,२, ३ र ४ का १ सय २६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले निस्सा पाएका मुसिकोट नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष राम मल्ल ठकुरी, मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, उपप्रमुख गगां श्रेष्ठ र प्रमुख प्रशाशकीय अधिकृत बिनाद कुँवरले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताउनुभयो ।

भुमि आयोग गुल्मीका अनुसार मुसिकोट नगरपालिकामा ४५ भूमिहिन दलित, १९ जना भुमिहिन सुकुम्बासी र १७३ अव्यवस्थित बसोबासी रहेका छन् । ४ वटा वडाको काम जिल्ला मालपोत कार्यालय गुल्मी मार्फत हुने र बाँकी ४ देखि ९ नं वडासम्मको काम मालपोत कार्यालय मजुवा मार्फत हुने भएकाले बाँकी रहेका वडाको निस्सा वितरण पनि केही दिनमा हुने भूमि आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिनुभयो ।

भूमि आयोग गुल्मीका अध्यक्ष ठकुरीले गुल्मी जिल्लाका १२ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका निस्सा वितरण गर्ने दोश्रो पालिका बनेको बताउनुभयो । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भन्नुभयो, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’ साथै विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पुरा गरेर निस्सा वितरण गरिने उहाँको भनाई छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको बताउनुभयो । नगरप्रमुख खरेलले निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने र सोही बमोजिम लालपुर्जा पाउने बताउनुभयो । उहाँले अहिले निस्सा नपाएका नागरिकहरुलाई पनि नआत्तिन आग्रह गर्दै सबैको प्रक्रियागत हिसाबले काम हुने जानकारी दिनुभयो ।

जग्गाको निस्सा पाएपछि मुसिकोट नगरपालिका वडा नं १ का लाभग्राही हरिलाल सार्कीले बर्षौँदेखि अलपत्र अवस्थामा रहेका आफुहरुलाई नगरपालिकाले जग्गाको प्रमाण स्वरुप निस्सा वितरण गर्दा खुसी लागेको बताए । “१० वर्षदेखि बस्दै आएको जग्गालाई आफ्नो भन्न सकेको थिईन, उनले भने अब लालपुर्जा पनि पाउने कुराले खुसी छु, नगरसरकारलाई धन्यवाद सार्कीले भने ।

गुल्मी जिल्लामा यस अगाडी रुरु क्षेत्र गाउँपालिकाले निस्सा वितरणको काम सम्पन्न गरेको छ । जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहीन दलित, २३६ जना भूमिहीन सुकुम्बासी र १ हजार ६२६ जना गरी कूल २ हजार १४७ जनाको तथ्यांक रहेको राष्ट्रिय भूमी आयोग गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता