पार्किङ स्थल बन्दै तम्घासको हाटबजार !



हुमाकान्त पोखरेल-गुल्मी, १४ साउन ।

एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहोर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्याक्टर र डोरज । ग्राउण्डलाई चारैतर्फबाट सवारीले घेरेका छन् । त्यत्तिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकल समेत छन् । रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडी समेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ । यसरी मैदानमा दैनिकजसो एउटा स्कूल बस, विभिन्न कार्यालयका पाँचवटा गाडी, तीनवटा ट्याक्टर, एउटा फोहोर फाल्ने गाडी, नगरपालिकाकै खानेपानीको ट्याक्टर र १० वटाजति मोटरसाइकल हुन्छन् । उक्त स्थान झ्याप्प हेर्दा सवारी पार्किङ स्थल र खेलमैदान जस्तो देखिन्छ । तर त्यो कुनै पार्किङ स्थल नभई रेसुङ्गा नगरपालिकाको हाटबजार हो । नगरपालिकाले विगत दुई बर्षदेखि संचालनमा ल्याएको हाटबजार केही महिनादेखि बन्द हुँदा पार्किङ स्थलमा परिणत भएको छ ।

झण्डै सात बर्ष अघिबाट बनाउन सुरु गरिएको हाट बजार आ.व. २०७६÷७७ मा निर्माण सम्पन्न भयो । निर्माण भइसकेपछि पनि केही महिना संचालनमा आएन । चौतर्फि दबावपछि नगरपालिकाले नै हाटबजार संचालन ग¥यो । हाटबजार संचालनमा आउदा कृषक र ग्राहकलाई राहत मिलेको थियो । तर अहिले बन्द हुँदा भने दुवैलाई निराश बनाएको छ ।

‘हाटबजार संचालन हुँदा उत्पादित तरकारी लिन गाडी घरमै आउथ्यो, मूल्य पनि राम्रै पाएका थियौँ ।’ रेसुङ्गा नगरपालिका –४ अर्खलेका कमलप्रसाद आचार्यले भने, ‘अहिले तरकारी बेच्नको लागि डोकोमा बोकेर बजार डुल्नुपरेको छ ।’ विचौलियाका रुपमा प्रस्तुत हुने व्यापारिहरुले सस्तोमा सामग्री राख्ने हुँदा आफुहरुले उचित मूल्य समेत नपाएको आचार्यले गुनासो गरे ।

सोही ठाउँकै अर्का कृषक ज्ञान बहादुर दर्लामीले मौसमअनुसारका तरकारी उत्पादन गर्छन । अहिले उनको बारीमा बन्दा, टमाटर, प्याज, भेन्डी, तितो करेला, काँक्रो, लौका, सिम्ला मर्च, खुसार्नी लगायतका फलफुल र तकारी छन् । तर उत्पादित तरकारी बेच्नको लागि उनी डोको बोकेर बजार धाउने गर्छन् । हाटबजार बन्द हुँदा आफुहरुले निकै सास्ती खेप्नुपरेको दर्लामीको भनाई छ । ‘क्विन्टल तरकारी उत्पादन गरेर पनि बिक्रीको लागि १०÷२० किलो डोकोमा बोकेर हिड्नुपरेको छ ।’ उनले भने, ‘सकेसम्म छिटो हाटबजार संचालन गरेमा सहज हुनेथियो ।’

आचार्य र दर्लामी त समस्यामा परेका किसानका प्रतिनिधिमुलक पात्र मात्रै हुन् । सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल उत्पादान गरेका अन्य ठाउँका कृषकहरु पनि निराश बन्न थालेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिकाका साथसाथै अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका कृषकहरु समेत हाटबजार बन्द हुँदा प्रभावित बनेका छन् । हाटबजार बन्द हुँदा व्यापारिले सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गर्दा कृषक र उपभोक्ता दुवै मर्कामा परेका छन् ।

हाटबजार निर्माणको लागि अहिलेसम्म पाँचवटा सरकारी कार्यालयहरुले कुल एक करोड ३३ लाख ५० हजार लगानी गरेका छन् । साविकको जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साविकको जिल्ला विकास समितिको आठ लाख, साविकको पशु सेवा कार्यालयको १० लाख र अन्य रकम लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको रहेको छ । हाटबजारको जग्गा भने साविकको जिल्ला विकास समिति अर्थात हालको जिल्ला समन्वय समितिको नाममा छ । शित भण्डार सहित संचालन गरिएको हाटबजार यसअघि पनि पटकपटक बन्द हुदै संचालनमा आएको थियो । यसअघि कारोना भाइरसको कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गा नगरपालिकाले अहिलेसम्म पनि संचालन गर्न सकेको छैन ।

रेसुङ्गा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष राम्जी पन्थीले केही समयभित्रै हाटबजार संचालनमा आउने दाबी गरे । नगरपालिकाले संचालन गर्दा घाटा हुने भएकोले निजि क्षेत्रसँग समन्वय गरी लिजमा दिने तयारी भइरहेको उनले बताए । ‘हाटबजार संचालनमा हामी गम्भीर छौ, अहिले नगरप्रमुखका बुवाको निधन भएका कारण प्रक्रिया अगाडी बढाउन रोकिएको छ ।’ उनले भने, ‘बढीमा एक महिनामा संचालन गर्छौ ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता