गुल्मीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा !



टोपलाल अर्याल भदौ १३ गुल्मी ।

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको छ। १५ महिनासम्मका बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको हो।

३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा गुल्मीलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ। जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरू पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

खोप कार्यक्रमले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टंकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज इन्सेफलाइटिस नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस–बी नियन्त्रणका साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालयका जनस्वाथ्य निरीक्षक बोम अर्यालले जानकारी दिए। जिल्लामा ३३२ खोप केन्द्र छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्।

पूर्ण खोप दिगोपन सुनिश्चितताका लागि विभिन्न रणनीतिक योजनाहरू निर्माण गरिएको छ। प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत महिनाभित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणका लागि सूक्ष्म योजना अद्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले बताए।

जिल्ला खोप समन्वय समितिले पूर्ण खोप दिगोपन सुनिश्चितता गर्ने १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखलाई सम्मानसमेत गरेको छ। रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्राप्त पूर्ण खोप दिगोपन सुनिश्चिततालाई जोगाइराख्न आफूहरू सधैँ क्रियाशील हुने बताए। उनले सबै नागरिकलाई खोपको पहुँच अभिवृद्धि गर्दै विभिन्न स्वास्थ्यका योजनामार्फत जिल्लाले अझै धेरै उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता