गुल्मीका २० वर्षका निखिल जसले च्याउ खेती बाट मासिक २ लाख आम्दानी गर्छन् !



सन्तोष महतारा गुल्मी । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । बिश्वास पनि अरूले गर्न नपर्ने रहेछ, जब आफुले आफ्नो इमान्दारीता, असल कर्म र सक्रियतामा बिश्वास गरे पुग्ने रहेछ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका—३ का निखिल खत्रीले आफुले अध्ययन गर्दा सिके अनुसारको व्यवसाय गर्छु भन्दा कसैले बिश्वास गर्नुभएको थिएन । घरपरिवार र छिमेकीले त्यो भन्दा बिदेश गएर धन कमाउन सुझाव दिनुहुन्थ्यो । अहिले २० वर्ष पुग्नुभएका निखिल डेढ वर्षअघि आफुमात्र अघि सरेर च्याउको बिउ उत्पादनमा लाग्नुभयो । दुई लाख लगानीमा सुरु गरिएको बिउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाल्नुभयो ।

उहाँले निखिल मल्टीप्रपोज एग्रो फर्म दर्ता गरेर चन्द्रकोट—५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गर्नुभएको छ । १० रोपनी जग्गा लीजमा लिएर २० ठुला टनेलमा खेती गर्नुभएका उहाँले च्याउलाई ५० टनेलमा विस्तार गर्दै हनुहुन्छ । आगामी चैतसम्म उहाँले ३० टनेल थप्ने बताउनुभयो । वार्षिक एक लाख तिरेर जग्गा लीजमा लिनुभएका निखिलले च्याउ खेतीमा २५ लाख लगानी गर्नुभएको छ । उहाँले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताउनुभयो ।

निखिले चन्द्रकोट—४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि सम्बन्धि पढ्नुभयो । त्यतिखेर प्रयोेगात्मक सिकाइको क्रममा उहाँ च्याउ खेती गर्नेमा बढी आकर्षित हुनुभयो । कक्षा १२ सकेपछि थप अध्ययन भन्दा पनि आफुले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित हुनुभयो ।

मासिक २ लाख आम्दानी
डेढ वर्षअघि बाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक दुई लाख आम्दानी भएको फर्म संचालक निखिल खत्रीले बताउनुभयो । “च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, सिजन अनुसार उत्पादन भएकोलाई बजारलाई पु¥याउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “वर्षभरलाई औसतमा हेर्दा मासिक दुई लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । निखिलले आम्दानी भएको रकमलाई पनि अहिले च्याउ खेतीमै लगानी गरिरहेको बताउनुभयो । उहाँका अनुसार फर्ममा रहेका २० टनेलमा अहिले सिताके र कन्या च्याउ रहेका छन् ।

फर्मबाट सिजनमा दैनिक ८ क्विन्टल र अघिपछि दैनिक १ क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा ३ क्विन्टल दैनिक विक्री हुनेगरेको फर्म संचालक खत्रीले बताउनुभयो । च्याउको प्रतिकिलोग्राम १ सय ५० देखि २ सय रुपैयाँसम्म पर्ने गर्छ ।

६ जनालाई आवासीय रोजगार
२० वर्षका निखिल खत्रीले अहिले आफ्नै कृषि फर्ममा ६ जनालाई आवासीय सेवासुविधासहित रोजगार दिनुभएको छ । प्राविधिक ज्ञानमा आफै पोख्त खत्रीले फर्ममा दैनिक ६ जनाले रोजगार पाएको बताउनुभयो । ‘आफ्नै ठाउँमा कामदार पाउन ग्राहो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु’ उहाँले भन्नुभयो ।

प्युठानदेखि लिएका ६ जनाले आवासीय सेवासुविधा बाहेक मासिक १५ हजारका दरले तलब पाउँदै आउनुभएको छ । उहाँलेहरुले फर्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने लगायतका सबै काम गर्नुहुन्छ । फर्ममा सुरुवाती चरणदेखि नै उहाँहरु हुनुहुन्छ । यो बाहेक सिजनमा अन्य कामदार राख्ने गरेको खत्रीले जानकारी दिनुभयो ।

अध्यननबाट सानैमा प्रेरित
सानै उमेरमा व्यवसायतर्फ प्रेरित हुनुको कारण अध्ययन नै भएको निखिलले बताउनुभएको छ । १८ वर्ष पुगेपछि उहाँ च्याउ खेतीमा लागेपछि अहिले व्यवसायीक तर्फ गइसक्नुभएको छ ।

आफुले प्राविधिक तर्फ कृषिमा अध्ययन गरेपछि कृषिबाटै व्यवसायमा उन्मुख हुन्छु भन्ने सोँच राखेको उहाँले बताउनुभयो । “पढ्ने समयमा प्रयोगात्मक गर्दा च्याउ खेती गर्छु भन्ने अठोट गरेको थिएँ”, उहाँ भन्नुहुन्छ, “अब च्याउ खेतीलाई व्यापक रुपमा बिस्तार गर्दै लैजाने हो”, निखिलले भन्नुभयो । निखिलाई अहिले घरपरिवारको पनि सहयोग र साथ छ । बुबा धनबहादुर खत्री, आमा रोशनी खत्री र दाजु कमल खत्री पनि निखिलको कृषि व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । कक्षा ९ देखि १२ सम्म प्राविधिक रुपमा कृषि पढाएकोले छिट्टै व्यवसायतर्फ प्रेरित भएकोमा बुबाआमा खुसी

बजारीकरणलाई सहज बनाउँदै च्याउ खेतीलाई दोब्बरले बढाएर दीर्घकालीन समयसम्मै गरिरहने खत्रीको अठोट छ । कृषि र पशुपालनमा केही समय आउने अनि पलायन हुने सन्दर्भलाई देखाउँदै खत्री आफैले आफु त्यस्तो अवस्थामा नजाने बताउनुभयो । मेरो सोँच नै सधैंभरी च्याउ खेती गरिरहने, यसलाई अझै विस्तार गर्ने र बजारीकरणमा पनि सहजता ल्याउने रहेको भन्दै खत्रीले स्थानीय सरकार र अन्य सम्बन्धित निकायसँग पनि सहयोग माग गर्नुभयो ।

बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म फर्ममा रहने निखिलले आफु निरन्तर खटिएका कारण व्यवसायले सफलता पाउँदै गएको बताउनुभयो । उहाँले बिदेश पलायन हुनुभन्दा आफ्नै गाउँघरमा कृषि र पशुपालन गरेर मनग्ये आम्दानी गर्न सकिने भन्दै सबै युवाहरुलाई प्राथामिकता खाडी मुलुक नभई कृषि र पशुपालनलाई राख्न सुझाव दिनुभयो ।

च्याउको बिउ उत्पादनको लागि सुरुमा गहुँ पकाउने, शुद्धीकरण गर्ने, मेसिनमा राख्ने, सेटिङ हुन्छ यसलाई १० देखि १५ दिन राखेपछि बिउ तयार हुन्छ । बिउ उत्पादनको लागि छुट्टै ल्याब हुन्छ । च्याउ उत्पादनका लागि सुरुमा पराल काट्ने, सफा गर्ने, ड्रममा पकाउने, २४ घण्टा सेलाउने, त्यसपछि पराल र बिउ मिसाउने, प्लास्टिकमा भर्ने, भरेपछि २० देखि २५ दिन राख्ने र पोका चिरेर पानी दिन थाल्ने त्यसपछि च्याउ उत्पादन सुरु हुन्छ । निखिलले फर्ममा गाउँमै पाइने बाँसको प्रयोग गरेर च्याउ उत्पादन गर्ने टनेल बनाउनुभएको छ ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि उद्यमीलाई संगठित गरेर लैजाने र कृषि सहकारी मार्फत सहजता प्रदान गरिने बताउनुभएको छ । उत्पादन तथा मागमा आधारित अनुदान दिने र कृषिमा ठोस कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । बजारीकरणको लागि ७५ वा ५० प्रतिशत अनुदानमा सवारीसाधन उपलब्ध गराउने सम्बन्धि पनि आफुहरु छलफलमा रहेको अध्यक्ष केसीको भनाइ छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता