गुल्मीका १० पालिकामा तालमेल, दुईमा एक्लाएक्लै



हुमाकान्त पोखरेल
तम्घास, २५ वैशाख 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मीका १० पालिकामा तालमेल भएको छ । दुई पालिकामा एक्लाएक्लै प्रतिस्पर्धा हुने भएको छ । तालमेल भएका पालिकामध्ये आठ पालिकामा पाँच दलीय गठबन्ध बनेको छ । एक पालिकामा एमाले–माओवादी तालमेल छ भने एक पालिकामा माओवादी विभाजित भई दुईतिर गठबन्धन बनाएको छ ।
मदाने, मालिका, छत्रकोट, रुरुक्षेत्र, चन्द्रकोट, सत्यवती र इस्मा गाउँपालिका एवम् मुसिकोट नगरपालिकामा पाँच दलीय गठबन्धन बनेको छ । इस्मा गाउँपालिकामा पाँच दलीय गठबन्धनबाट काँग्रेसका भगत सिहं खड्का अध्यक्ष एवम् काँग्रेसकै पार्वती कुँवर उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । त्यस्तै एमालेबाट हिरा एसी अध्यक्ष र बिमला खत्री उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । मालिका गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका देविराम अर्याल अध्यक्ष एवम् उपाध्यक्षमा काँग्रेसका उपेन्द्र अर्याल चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरुसँग प्रतिस्पर्धा गर्नको लागि एमालेबाट रित बहादुर थापा अध्यक्ष र रनमाया पुन उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । मदानेमा गठबन्धनबाट काँग्रेसका महेन्द्र कुँवर अध्यक्ष र माओवादी केन्द्रका वेगम चन्द उपाध्यक्ष एवम् एमालेबाट प्रेम केसी अध्यक्ष र सरिता खड्का उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
छत्रकोटमा एमालेबाट रामप्रसाद पाण्डेय अध्यक्ष र सावित्रा ज्ञवाली उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । पाँच दलीय गठबन्धनबाट काँग्रेसका अनन्तराम पौडेल अध्यक्ष र जनमोर्चाका गुमानसिंह पुन उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । रुरुक्षेत्रमा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मीनादेवी ज्ञवाली तथा कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसबाट दुर्गा ज्ञवाली उम्मेदवार बन्नुभएको छ । सत्यवतीमा अध्यक्षमा एमालेबाट टीकाराम पाण्डे र उपाध्यमा निरमाया तरामु उम्मेदवार हुनुहुन्छ भने गठबन्धनबाट कांग्रेसका पारिश्वर ढकाल अध्यक्ष तथा जनमोर्चाबाट तेजकुमारी थापा उपाध्यक्ष रहनुभएको छ ।
चन्द्रकोटमा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्याल हुनुहुन्छ भने कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी र उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी उम्मेदवार हुनुहुन्छ । मुसिकोटमा एमालेबिरुद्ध पाँच दलीय गठबन्धन भएको छ । एमालेको तर्फबाट मेयरमा जीवन खरेल र उममेयरमा गंगा श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । गठबन्धनको तर्फबाट मेयरमा काँग्रेसका हरीनारायण सापकोटा र उप–मेयरमा एकीकृत समाजवादीका श्रीराम महतले उम्मेदवारी दिनुभएको छ ।

धुर्कोटमा एमाले–माओवादी तालमेल

धुर्कोट गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । दुई पार्टीबीच भएको सहमतिअनुसार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा एमालेका सीता गिरी चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै काँग्रेस, समाजवादी, जनमोचा र जसपा गरी चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारी अध्यक्ष र समाजवादीका चन्द्र सुनार उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । धुर्कोटमा पाँच दलीय गठबन्धन हुने भनिएपनि काँग्रेस र माओवादी केन्द्रले अध्यक्ष पदमा दाबी नछोड्दा गठबन्धन टुटेको हो । धुर्कोटमा अध्यक्षसहित दुई वटा वडामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार छन् भने उपाध्यक्षसहित पाँच वटा वडामा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेको एमाले गाउँ कमिटी सचिव सूर्य घिमिरेले जानकारी दिनुभयो ।

दुई पालिकामा एक्लाएक्लै

रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिका गरी दुई पालिकामा एक्लाएक्लै निर्वाचन हुने भएको छ । दुवै पालिकामा काँग्रेसले आफ्नो पार्टीको जनमत बलियो भएको दाबी गर्दै माओवादी र समाजवादीलाई गठबन्धनमा समावेश गरेको छैन । माओवादीले रेसुङ्गा नगरपालिकामा उप–मेयरमा उम्मेदवारी दिएपनि फिर्ता गरेपछि अहिले उम्मेदवार नै छैनन् । काँग्रेसबाट जिल्ला सभापति खिलध्वज पन्थी मेयर र अमृतादेवी कुँवर उप–मेयरका उम्मेदवार हुनुहुन्छ । त्यस्तै एमालेबाट पूर्वाधारविज्ञ राजेन्द्र पाण्डे मेयर एवम् रीता पाण्डे उप–मेयरको उम्मेदवार हुनुहुन्छ । गुल्मीदरबार गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा सरोज कुमार थापा र उपाध्यक्षमा तारा थापा ढेगा हुनुहुन्छ । एमालेबाट कमल भुसाल अध्यक्ष र शुशिला पुन उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

कालिगण्डकीमा माओवादी विभाजित

कालिगण्डकी गाउँपालिकामा माओवादी केन्द्र विभाजित भएको छ । एक पक्षले एमालेसँग तालमेल गरी मञ्जु कुमारी दर्लामीलाई सूर्य चिन्हबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाएको छ । भने पार्टीका गाउँकमिटी इन्चार्ज समेत रहेका तेजेन्द्र सलामी पाँच दलीय गठबन्धनबाट वडा नम्बर ६ खड्गकोटमा गिलास चिह्नबाट वडासदस्यको उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्र गाउँकमिटी अध्यक्ष संजय केसीले आफुहरुले एमालेसँग तालमेल गर्ने निर्णय गरेपनि इन्चार्जले नमानको प्रतिक्रिया दिनुभयो । कालिगण्डकीमा एमालेबाट राम्जी ढकाल अध्यक्षको उम्मेदवार हुनुहुन्छ । त्यस्तै गठबन्धनबाट काँग्रेसका बेद थापा अध्यक्ष एवम् जनमोर्चाकी तारा थापा उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले सात, काँग्रेसले चार एवम् माओवादीले एक पालिकामा प्रमुख जितेको थियो । गत बर्ष एमालेले जितेका पाँच र काँग्रेसले जितेका दुई पालिकामा एमालेबिरुद्ध पाँच दलीय गठबन्धन भएको छ । काँग्रेसले जितेको कालिगण्डकीमा माओवादी विभाजित भएको छ । गत निर्वाचनमा काँग्रेससँग मिलेर माओवादी केन्द्रले अध्यक्ष जितेको धुर्कोट गाउँपालिकामा अहिले एमालेसँग चुनावी तालमेल भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता