इस्मा :११ विद्यालयलाई पछि पार्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि रामराज्य माविको पोल्टामा !



फागुन ६ गुल्मी ।
इस्मा गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि वडा नम्बर चारको रामराज्य माविले हात पारेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुलनाराका साथ फागुन ३ गते देखि ५ गते सम्म चलेको प्रतियोगितामा इस्मा गाउँपालिकाका ११ वटा विद्यालयको सहभागीता रहेको थियो ।
११ विद्यालय मध्य रामराज्य माविले १० स्वर्ण ,८ रजत र ६ कास्य गरि  २४ पदक सहित  प्रथम स्थान हासिल गर्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

राष्ट्रपति रनिङ शिल्डको उपाधि उचाल्दै रामराज्य माविका विद्यार्थी खेलाडी र शिक्षक । तस्विर डिबी खड्का ।

त्यस्तै वडा नम्बर २ को पालुखा माविले ६ स्वर्ण , ६ रजत र २ कास्य सहित १४ पदक हात पार्दै द्वितीय स्थान हासिल गर्दा , वडा नम्बर तीनको ठाडढुङ्गा माविले ५ स्वर्ण ,२ रजत र १ कास्य सहित तृतीय स्थान हासिल गर्न सफल भएको शिक्षा शाखाका प्रमुख लाल बहादुर कुवरले जानकारी दिए ।
त्यस्तै सहभागी विद्यालय मध्य चन्द्र आधारभुत विद्यालय ,देविस्थान आधारभुत र जनज्योति आधाभुत विद्यालयले कुनै पनि पदक जित्न सकेन ।
प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय हुनेले क्रमश: २०,१६ र १२ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिए ।
प्रतियोगितामा ४ विधाका ३६ खेल  मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

राष्ट्रपति रनिङ शिल्डको शुक्रबार वडा नम्बर पाँचको आनन्दपुर माविमा एक औपचारिक समारोहका साथ समापन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका संसद खड्क बहादुर बस्नेतले पदक हासिल गर्ने सम्पुर्ण विद्यार्थी खेलाडीलाई बधाई ज्ञापन गर्दै खेलमा सहभागी हुनु भनेकेकै जित हासिल गर्नु रहेको बताए ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष पार्वती कुवरले राष्ट्रपति रनिङ शिल्डले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नुका साथै अन्तर विद्यालय बिच मित्रवत सम्बन्ध कायम राख्ने बताईन ।
त्यस्तै गाउँपालिका अध्यक्ष भगवत सिंह खड्काले प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिने कर्मचारी, जनप्रतिनिधि तथा विद्यार्थीलाई धन्यवाद ब्यक्त गर्दै,खेलकुद जिवनको एक हिस्सा रहेको र यसले शारीरिक ,मानसिक रुपमा स्वस्थ राख्नुका साथै अनुशासनमा बाध्ने काम गर्ने बताए ।

समापन समारोहमा वडा नम्बर एकका वडा अध्यक्ष शेर बहादुर कुवर ,वडा नम्बर ५ का वडा अध्यक्ष झबिन्द्र भण्डारी ,वडा नम्बर ६ का वडा अध्यक्ष ढाल बहादुर कुवर ,कार्यापालिका सदस्य सुनिता विश्वकर्मा लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारीको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता