असहायको सहारा बन्दै वामी विश्व सम्पर्क मञ्च !



गुल्मी माघ १७ । वामी विश्व सम्पर्क मञ्चले आर्थिक अभावका कारण उपचार गर्न नसकेका २ जनालाई आर्थिक सहयोग प्रदान गरेको छ । मञ्चले मुसिकोट नगरपालिका साविकको वामी गाउँ विकास समिति भित्र रहेका असहाय, विपन्न र दिन दुःखीहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्दै आईरहेको छ ।

शुक्रवार लामो समयदेखि प्यारालाईसिस भई विस्तारामै थलिएका मुसिकोट नगरपालिकाको वडा नं ८ पुरानो गाउँका झुन्ज बहादुर नेपाली र रुखबाट खसेर हात तथा घाँटी चलाउन नसक्ने अवस्थामा रहेका सोही ठाउँका बुद्धि प्रसाद सापकोटाका आफन्तलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

नेपालीले लामो समयदेखि प्यारालाईसिसको औषधि सेवन गर्दै आएको र पछिल्लो समय औषधि किन्ने पैसा समेत नभएको थाहा पाएपछि मञ्चको तर्फबाट औषधि उपचारका लागि भनेर नगद १५ हजार रुपैयाँ झुन्ज बहादुर नेपालीकी बुहारी माया नेपालीलाई हस्तान्तरण गरिएको वामी विश्व सम्पर्क मञ्चले जनाएको छ ।

त्यस्तै घाँस काट्ने क्रममा रुखबाट लडेर शरिरको एक भाग नै नचल्ने अवस्थामा रहेका सापकोटालाई पनि उपचार खर्चका लागि नगद २० हजार रुपैयाँ छोरा मेघनाथ सापकोटालाई हस्तान्तरण गरिएको हो । सहयोग रकम बुझ्दै सापकोटाले आफु माथि परेको यो दुखलाई सम्झेर वामी विश्व सम्पर्क मञ्चले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

उनले यस्तो दुःख भोलि जो कोहीलाई पनि आउन सक्ने भन्दै यस क्षेत्रमा रहेका दिन दुःखीहरु प्रति सम्पर्क मञ्चले देखाएको सहयोग र सहानुभुतीले पीडितका लागि निकै ठुलो राहत हुने बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष ज्ञानिश्वर काफलेले यो रकम अहिले तत्कालका लागि सामान्य औषधि उपचारका लागि भएपनि आवश्यक परेमा पुन ः अभियाननै सञ्चालन गरेर थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मधुस क्याफे क्लवमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष ज्ञानिश्वर काफ्ले, कोषाध्यक्ष महेश्वर घिमिरे, सचिव राम चन्द्र सापकोटा, वामी विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समिति सदस्य हरिनारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

वामी विश्व सम्पर्क मञ्चले केही दिन अगाडी मात्रै साविकको वामी गाउँ विकास समिति भित्र रहेका विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको थियो । मञ्चले हरेक वर्ष विद्यालयमा छात्रवृत्ति वितरण गर्दै आईरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता